काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयु)ले आफू अन्तर्गतका मेडिकल कलेजहरुलाई चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयन गर्न पत्र पठाएको छ। केयुले सम्बन्धन दिएका निजी मेडिकल कलेजहरुलाई सार्वजनिक शिक्षण संस्थामा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रममा अध्ययन गर्ने आवासीय चिकित्सकहरुलाई दिए सरह (स्वास्थ्य सेवाको आठौँ तह) निर्वाह भत्ता उपलब्ध गराउन पत्राचार गरेको हो।
चिकित्सा शिक्षा आयोगको मिति २०८१ फागुन १३ गते बसेको बैठकले उक्त निर्णय गरेको हो। उक्त निर्णयबारे विश्वविद्यालहरुलाई जानकारी गराउँदै चिकित्सा शिक्षा आयोगले कार्यान्वयनका लागि पत्र पठाएको थियो। सोही आदेशअनुसार निर्णय कार्यान्वयन गर्न केयुले पत्र पठाएको हो।
केयु अन्तर्गत मणिपाल कलेज अफ मेडिकल साईन्सेज, पोखरा, कलेज अफ मेडिकल साइन्सेज, भरतपुर, नेपालगञ्ज मेडिकल कलेज, चिसापानी, बाँके, काठमाडौं मेडिकल कलेज, काठमाडौं, नेपाल मेडिकल कलेज, काठमाडौं, कान्तिपुर डेन्टल कलेज, काठमाडौं, नोबेल मेडिकल कलेज, विराटनगर, लुम्बिनी मेडिकल कलेज, पाल्पा, विराट मेडिकल कलेज, विराटनगर र देवदह मेडिकल कलेज, रुपन्देही रहेका छन्।