काठमाडौं - नेपाल मेडिकल तथा ल्याब एक्स्पो आजदेखि भृकृटीमण्डपमा सुरु भएको छ। शनिबारसम्म चल्ने उक्त एक्स्पो एसडी प्रोमो मिडियाले ईईपीसी भारत र केमसान नेपालसँगको सहकार्यमा आयोजना गरिएको हो।
नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२५ को मुख्य उद्देश्य स्वास्थ्य सेवा क्षेत्रमा आवश्यक पर्ने अत्याधुनिक उपकरण, प्रविधि तथा सेवाहरूलाई एकैथलोमा प्रदर्शन गर्ने मूल लक्ष्यका साथ गरिएको उक्त एक्स्पोको उद्घाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गरेका थिए।
स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको मेडिकल सामग्री व्यवसायलाई व्यवस्थित बनाउन आवश्यक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल बताउँछन्।आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न रसायन तथा मेडिकल आपूर्ति व्यवसायीहरुको भूमिका महत्वपुर्ण हुने उनको तर्क छ।
मेडिकल सामग्री आपूर्तिका क्षेत्रमा रहेका समस्याहरु समाधानका लागि आफू सकारात्मक रहेको मन्त्री पौडेलको धारणा थियो। व्यवसायीहरुले मुनाफा आर्जनका साथै आम नागरिकको सेवालाई पनि केन्द्रमा राख्नुपर्ने मन्त्री पौडेलको भनाई छ।
एक्स्पोले नेपाली बजारमा स्वास्थ्य क्षेत्रमा भएका नयाँ प्रविधिहरू ल्याउन स्वदेशी तथा विदेशी व्यवसायीहरूबीच सहकार्यको अवसर सिर्जना गर्ने मेडिकल आपूर्ति संघ नेपाल केमसानका अध्यक्ष भक्तबहादुर हमाल बताउँछन्। 'एक्स्पोबाट आयातकर्ताहरूलाई नयाँ प्रविधि तथा उपकरणबारे जानकारी प्राप्त हुनेछ, जसले गर्दा स्वास्थ्य सेवा सहज र प्रभावकारी बनाउने अवसर मिल्नेछ', अध्यक्ष हमालले भने ।
नीति निर्माताहरूलाई समेत मेडिकल उपकरण आपूर्तिको वर्तमान अवस्थाबारे बुझ्न मद्दत मिल्ने उनले बताए । अझै पनि मेडिकल आपूर्तिको क्षेत्र सरकारको प्राथमिकतामा पर्न नसकेको उनको गुनासो छ ।
यो आठौं संस्करणको मेडिकल शोमा ३०० भन्दा बढी स्टल रहेका छन्। गत वर्षको मेडिकल शोमा ९ हजारभन्दा बढीले अवलोकन गरेकोमा योपटक १० हजारभन्दा बढी हुने अनुमान आयोजकको छ ।
नेपालमा मेडिकल सामग्रीको आपूर्तिमा कैयौं चुनौतीको सामना गर्नुपर्ने अध्यक्ष हमाल बताउँछन् । मेडिकल उपकरण तथा औषधिको आपूर्तिमा सरकारको नीति अस्पष्ट हुँदा तथा अत्यावश्यक मेडिकल उपकरणहरूमा उच्च कर तथा भन्सार शुल्कका कारण व्यवसायी मारमा पर्ने गरेको उनको गुनासो छ । कर तथा भन्सार दरमा सहुलियत दिनका लागि केमसानले सरकारलाई सुझाव दिँदै आएपनि अहिलेसम्म सो काम हुन नसकेको उनी बताउँछन्।
औषधि ऐनमा मेडिकल सामग्रीहरुलाई समेत समावेश गरिनुपर्ने माग केमसानको छ। औषधि ऐन परिमार्जनका लागि तयार भएको विधेयक हाल स्थगित भएर स्वास्थ्य मन्त्रालयले औषधि ऐन दर्ता गरेर कानुन मन्त्रालयमा पठाएको छ। 'यसका लागि हामीले हाम्रा प्रतिक्रिया पनि दिएका छौं, उक्त प्रतिक्रियामा औषधि ऐनमा भएको कमीकमजोरीहरुलाई समेत सुधार गरी हामीले प्रतिक्रिया दिइएका छौं, आशा छ आगामी ऐनमा मेडिकल सामग्रीहरुलाई समेत समावेश गरिन्छ', उनले भने।
नेपालमा हाल विभिन्न १० भन्दा बढी मुलुकहरुबाट मेडिकल सामग्रीको आपूर्ति हुने गरेको छ। प्रमुख आपूर्तिकर्ता देशहरूमा चीन, भारत, जर्मनी, अमेरिका, जापान, दक्षिण कोरिया लगायतका मुलुकबाट उक्त सामग्री आपूर्ति हुँदै आएको अध्यक्ष हमाल बताउँछन्। उनका अनुसार चीन र भारतबाट अधिकांश सामान्य उपकरण तथा उपभोग्य सामग्रीहरू आउँछन् भने, जर्मनी, अमेरिका, जापानजस्ता देशहरूबाट उच्च–प्रविधियुक्त मेडिकल उपकरण तथा अनुसन्धान सामग्रीहरू आयात गरिन्छ।