काठमाडौं- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गामा धरान उपमहानगरपालिकाले संरचना बनाउन खोजेको भन्दै प्रतिष्ठानले आपत्ति जनाएको छ। सार्वजनिक अपिल गर्दै प्रतिष्ठानको मूलगेट भन्दा पश्चिमतर्फको बाटोको छेउमा रहेको प्रतिष्ठानको ग्रिन बेल्टमा मेयर राईले उपमहानगरले संरचना बनाउन खोजेको बताएको छ।
मेयर राईले सार्वजनिक रुपमा उक्त विषयमा बोलेको बताउँदै उपमहानगरपालिकासँग मिति फागुन १४ गते टेलिफोन सम्बाद गरी प्रतिष्ठानसँग छलफल एवं अन्तर्क्रिया गरी सहमति पश्चात् मात्र प्रक्रिया गर्न अनुरोध गरेको जनाएको छ। साथै प्रतिष्ठानले पत्रबाट समेत त्यसो नगर्न भनेको छ।
रजिस्ट्रार प्राडा सूर्य प्रसाद संग्रौला हस्ताक्षरित अपिलमा भनिएको छ, 'प्रतिष्ठानले मूल गेटबाट पूर्व तथा पश्चिम दक्षिणतर्फ बाउन्ड्री वाल निर्माण गर्दा पेरिफेरल रोड, ड्रेन तथा ग्रिन वेल्टको क्षेत्रलाई छोडेर मात्र अस्पतालको बाउन्ड्री वाल तयार गरिएको हो। यसको कारण प्रतिष्ठानमा भविष्यमा हुने निर्माण, अस्पताल क्षेत्रको वरिपरि राख्नु पर्ने हरित वातावरणीय अवस्था तथा भैपरी आउन सक्ने विपत्ति, प्रकोप तथा आपत विपतको अवस्थामा रहनु पर्ने आवश्यक खुल्ला क्षेत्रको मापदण्डलाई मध्यनजर गरी उक्त क्षेत्रमा प्रतिष्ठानले हालसम्म कुनै पनि संरचना निर्माण नगरेको समेत सम्बन्धित सबैलाई जानकारी गराइन्छ।'
त्यससँगै प्रतिष्ठानको ४०० शैय्याको मातृशिशु स्याहार केन्द्र भवन निर्माण कार्य सम्पन्न हुँदै गरेको बताइएको छ। जसमा सुत्केरी आमा तथा नवजात शिशुको उपचार सेवा संचालन हुनेछ । 'अतः आमा तथा बच्चाको जन्मसँग सम्बन्धित संवेदनशील उपचार सेवा सुचारु हुँदा उक्त क्षेत्र वरपर खुला, सफा तथा हरित वातावरण हुन अत्यावश्यक हुनजान्छ,' अपिलमा भनिएको छ।
त्यस्तै उक्त क्षेत्रमा नेपाल सरकारकै पूर्ण अनुदान बजेट सहयोगमा २०० शैय्याको मुटुरोग उपचार केन्द्र तथा २०० शैय्याको क्यान्सर रोग उपचारका लागि भवन संरचना निर्माणको कार्ययोजना पारित भइसकेको पनि उल्लेख छ। त्यस अवस्थामा उक्त सबै क्षेत्रमा उल्लिखित उपचार सेवा प्रदान गर्नका लागि आम जनसमुदायको आवत जावत तथा इमरजेन्सी उपचार सेवा व्यवस्थित गर्न बाउन्ड्रीवाल बाहिर संरचना निर्माण हुँदा सम्भवन नहुने बताइएको छ।

