काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रजिष्ट्रार प्राडा सूर्यप्रसाद संग्रौलालाई अभद्र व्यवहार गरेका छन्। प्रतिष्ठानको बिज्ञप्तिअनुसार प्रतिष्ठानको मूल गेट पश्चिम तर्फको ग्रिनबेल्ट क्षेत्रका विषयमा संवाद गर्न जाँदा उनले जनप्रतिनिधिसँग कुरा गर्ने हैसियत नभएको बताएका हुन्।
प्रतिष्ठानबाट जारी बिज्ञप्तिमा भनिएको छ, 'फागुन १५ गते प्रतिष्ठानको मूल गेट पश्चिम तर्फको ग्रिनबेल्ट क्षेत्रमा धरान उपमहानगरपालिकाद्वारा शिलान्यास भनि गरिएको समयमा प्रतिष्ठानको तर्फबाट रजिष्ट्रारज्यूले स्थलगत रुपमा गई नगर प्रमुखज्यूलाई केही कुरा राख्न अनुरोध गर्दा नगर प्रमुखज्यूबाट कर्मचारीले जनप्रतिनिधिसँग कुरा गर्ने हैसियत नरहेको भनि अभिव्यक्ति दिनुभएको छ। जुन सामान्य मानवीय व्यवहार अनुरुपको पनि नभएको देखिन्छ।'
धरान उपमहानगरपालिका प्रमुख स्वयं प्रतिष्ठानको सञ्चालक परिषद्को पदेन सदस्य रहेकोले प्रतिष्ठानको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने प्रतिष्ठानको बुझाइ छ। मेयर राईको उक्त अभिव्यक्ति एवं व्यवहार प्रति खेद तथा निन्दा प्रकट गर्ने निर्णय समेत प्रतिष्ठानको भेलाले गरेको छ।
नेपाल सरकारबाट प्रतिष्ठानको नाममा नामसारी भई हालसम्म आफ्नो स्वामित्वमा रहेको प्रतिष्ठानको उक्त भू-क्षेत्रमा हुने कुनै पनि प्रकारको हस्तक्षेप एवं अतिक्रमण नसहने पनि निर्णय गरेको छ। उक्त स्थानमा धरान उपमहानगरपालिकाले संरचना निर्माण गर्न शिलान्यास गरेको जनाएको छ।