काठमाडौं- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बर्दिवास पाँचवटा अस्पताललाई बन्द गर्न निर्देशन दिएका छन्। बिना दर्ता सञ्चालन भइरहेको पाइएको भन्दै अस्पताललाई बन्द गर्न निर्देशन दिएका हुन्।
उनले शुक्रबार बेलुकी बर्दिवासको ८ वटा अस्पताल अनुगमन गरेका थिए। पिनाकल हस्पिटल, सुरक्षा अर्थोपेडिक एन्ड डेन्टल क्लिनिक, ओम समाज डेन्टल क्लिनिक, खर्गा डेन्टल केयर सेन्टर र खोमुसरा डेन्टल क्लिनिकले सेवा सञ्चालन अनुमति नलिएको पाइएको उनको सचिवालयले बताएको छ।
दर्ता बिना नै सञ्चालनमा रहेका कारण तत्काली बन्द गर्न भनिएको उनले बताए। उनले अस्पताल सञ्चालकहरूलाई विधि पूरा गरी अनुमति लिएपछि मात्र सेवा सञ्चालन गर्न निर्देशन दिएको बताए।
अनुगमनका क्रममा महेन्द्र डेन्टल क्लिनिक स्वीकृत रहेको पाइए पनि जनसेवा हस्पिटल र डि.एन.बि मेडिकेयर सेन्टरलाई नवीकरण गराउन भनिएको छ। उनले यसअघि जनकपुर र वीरगञ्जमा पनि अनगुमन गरेका थिए। त्यहाँ पनि केही अस्पताल अवैध पाइएपछि बन्द गर्न निर्देशन दिएका थिए।