काठमाडौं- नेपाल चिकित्सक संघ(एनएमए)ले ‘नेपालको लागि नेपाली चिकित्सक’ थिममा ७५ औं स्थापना दिवस मनाउने भएको छ। आगामी फागुन २० गते विशेष कार्यक्रम गरी मनाउने भएको हो।
संघले आइतबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएको हो। पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष डा बद्री रिजालले यसपल्ट नेपाली चिकित्सकहरुको योगदान, समर्पण र भूमिकालाई स्थापना दिवसका अवसरमा उजागर गर्ने बताए। उनले भने, 'नेपालमा चिकित्सकहरु न्युनतम सेवा सुविधामा पनि देशका कुनाकन्दराका स्वास्थ्य संस्थामा अहोरात्र खटेर योगदान गरिरहेका छन्। उनीहरु नेपाली स्वास्थ्य सेवा प्रणालीको मेरुदण्ड हुन्।'
संघका महासचिव डा सञ्जीव तिवारीले सुकेधाराको मरक्युर होटलमा विशेष कार्यक्रम आयोजना गरिने बताए। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख अतिथिका कार्यक्रम उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेललगायत विशिष्ठ व्यक्तित्वहरुको सहभागिता रहेनछ। उक्त अवसरमा पाँचजना वरिष्ठ चिकित्सकहरुलाई राष्ट्रपतिको हातबाट विशेष सम्मान गरिन लागेको पनि उनले जानकारी दिए।
२००७ साल फागुन २० गते स्थापना भएको चिकित्सक नेपालको सबैभन्दा पुरानो पेशागत संस्था हो।