गमगढी– नेपालकै प्रमुख पर्यटकीयस्थल रारा घुम्न आएका एकजना आन्तरिक पर्यटकको मृत्यु भएको छ। रारा घुम्न आएका काभ्रेको धुलिखेल नगरपालिका–१० स्थायी ठेगाना भएका वर्ष ५४ का भुवन विश्वकर्माको सोमबार बिहान लेक लागेर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेको जानकारी दिए।
जिल्ला अस्पताल मुगुका चिकित्सक नकुल शाहीका अनुसार विश्वकर्मा आइतबार राति ९ बजे श्वासप्रश्वासमा समस्या भएपछि चेकजाँच गर्न अस्पताल पुगेका थिए।
अस्पतालमा चेकजाँच पछि शरीरमा अक्सिजनको कमी भएक भन्दै चिकित्सकले भर्ना हुनुपर्ने बताएका थिए। तर विश्वकर्मा चेकजाँच पछि भर्ना हुन नमानी सल्लेरी फर्किए। सोमबार बिहान ६ बजे उनलाई साथीहरूले एम्बुलेन्समा फेरी लिएर आए। अस्पताल पुग्दा उनको मृत्यु भइसकेको डा शाहीले जानकारी दिएका छन्। दमको समेत दीर्घरोगी रहेका विश्वकर्मामा मोटोपन पनि थियो।
हिमपात भएको बेला, चिसो मौसम, उच्च हिमाली भूभागमा अक्सिजनको कमीको कारण लेक लागेर कार्डियो पल्मोनरी एरेष्ट (हार्टअट्याक) हुँदा उनको मृत्यु भएको डा शाहीले बताएका छन्।
आइतबार मात्र मृतक विश्वकर्मासहित २५ जनाको टोली रारा घुम्न रारा ताल क्षेत्रमा पुगेको थियो।