काठमाडौं - औषधि व्यवस्था विभागले एन्टीबायोटिक औषधिको लेवलमा रातो धर्का (रेडलाइन) राख्ने व्यवस्था पालना गर्न औषधि उद्योगहरुलाई निर्देशन दिएको छ।
विभागले एक सूचना जारी गरी सबै किसिमको एन्टीबायोटिक औषधिमा रातो धर्का राख्ने व्यवस्थाको पालना गर्न निर्देशन दिएको हो।
एन्टीबायोटिक (प्रतिजैविक) औषधिहरुको अधिक प्रयोग, न्यून तथा अनावश्यक प्रयोगले उत्पन्न हुने प्रतिजैविक प्रतिरोध (एन्टीबायोटिक रेसिस्टेन्टलाई न्यूनीकरण गर्न एन्टीबायोटिक औषधिको प्याकिङ्गको लेवलमा रातो धर्का लगाउनुपर्ने अभ्यास रहेको विभागले जनाएको छ।
यसअघि औषधि सल्लाहकार समितिको सिफारिसमा विभागले गत वर्ष भदौ ११ गते एन्टीबायोटिक औषधिको प्राइमरी र सेकेण्डरी प्याकिङ्गको लेवलमा धर्मा राख्ने सूचना निकोलेको थियो। तर रातो धर्का सम्बन्धी व्यवस्था कम्पनी र उत्पादन अनुसार समान नरहेको विभागले जनाएको छ।
आम उपभोक्तालाई पनि पहिचान गर्न असहज भएको गुनासो आएपछि विभागले पुनः सूचना जारी गरी उत्पादक तथा आयातकर्ता सबैलाई रातो धर्का राख्ने व्यवस्था पालना गर्न निर्देशन दिएको हो।
एन्टीबायोटिक औषधिहरु चिकित्सकको सिफारिसमा मात्र बिक्रि वितरण गर्न विभागले आग्रह गरेको छ। चिकित्सकको सिफारिस बिना उक्त औषधिहरु बिक्रि वितरण गरेको पाइएमा कानून बमोजिम कारबाही समेत गरिने सूचनामा उल्लेख छ।
‘यदी कसैले कानून बर्खिलाप चिकित्सकको सिफारिस बिना उक्त औषधिहरु बिक्रि वितरण गरेको पाइएमा कानून बमोजिम कारबाही गरिने व्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराईन्छ।’ सूचनामा भनिएको छ।