काठमाडौं- नेपाल चिकित्सक संघले १०२ वर्षीय डाक्टर गौरी शंकर लाल दाससहित पाँच जना अग्रज चिकित्सकलाई सम्मान गरेको छ। चिकित्सक संघको ७५ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान गरेका हुन्।
कार्यक्रमा डा डा मृगेन्द्र राज पाण्डे, डा दिनेश नाथ गंगोल, डा डम्बर बहादुर कार्की र डा सरस्वती पाध्या लाई 'लेजेन्ड इन मेडिसीन' सम्मान प्रदान गरिएको हो।
'नेपालको लागि नेपाली चिकित्सक', भन्ने मूल नाराका साथ आयोजित विशेष कार्यक्रमका राष्ट्रपति रामचन्द्र पौडेलले पाँचै जना डाक्टरहरूलाई 'लेजेन्ड इन मेडिसिन' सम्मान प्रदान गरेका हुन्।
उक्त कार्यक्रममै उत्कृष्ट रिसर्च आर्टिकल सम्मान वाट डा पवन शर्मा समेत सम्मानित भएका थिए। राष्ट्रपति पौडेलले पुरस्कृत भएका डाक्टरहरूलाई बधाई दिँदै पछिल्लो समय मुलुकको स्वास्थ्य शिक्षा अब्बल हुँदै गएको बताए।
नले दूर दराजमा अझै नागरिकले उपयुक्त स्वास्थ्य सेवा प्राप्त गर्न नसकिरहेकाले यो अवस्थालाई गम्भीरतापूर्वक लिएर दक्ष चिकित्सकको सेवा पुर्याउन आवश्यक रहेको बताए।
उनले नेपालमै स्तरीय स्वास्थ्य सेवा तथा उपचार हुन थालेको आफैँले अनुभव गरेको उल्लेख गरे। राष्ट्रपति पौडेलले देशको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार गर्न तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न आगामी दिनमा नेपाल चिकित्सक संघको भूमिका अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिलविक्रम कार्कीले स्वास्थ्य क्षेत्रमा विश्वभर आधुनिक प्रणालीको विकास भएपनि नेपालमा अझैपनि बदलिँदो समयसँगै यस क्षेत्रमा उल्लेखनीय विकास हुन नसकेको बताए।
'जनशक्तिको अभाव तथा फितलो स्वास्थ्य नीतिले गर्दा आजसम्म पनि दूरदराजका आम नागरिकहरु गुणस्तरीय स्वास्थ्य सेवाबाट वंचित हुनुपर्ने विडम्बना कायमै रहेको छ,' उनले भने, 'यसका साथै समय समयमा चिकित्सकहरूमाथि हुने आक्रमण, दुर्व्यवहार लगायतका घटनाहरु भईरहेको अवस्थामा स्वास्थ्य सेवा प्रवाहमा गम्भीर समस्या उत्पन्न भईरहेको तथ्यलाई नकार्न सकिंदैन। यस्तोमा स्वास्थ्य क्षेत्रमा विद्यमान समस्याहरूको समाधानका लागि नेपाल सरकारद्वारा बलियो स्वास्थ्य नीति तथा परिणाममुखी कार्यक्रमहरू लागु गर्नुको विकल्प छैन।'