काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा अन्तर्गत पाँच सय चिकित्सकका लागि लोक सेवा खुलाउने गरी दरबन्दीका लागि स्वीकृति पाइसकेको बताएका छन्।
नेपाल चिकित्सक संघको ७५औं स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा मन्त्री पौडेलले मन्त्रिपरिषदबाट दरबन्दीका लागि स्वीकृति पाइसकेको जानकारी दिएका हुन्।
‘स्वास्थ्य सेवा अन्तर्गत एकै पटक पाँच सय डाक्टरका लागि लोकसेवा खोल्ने गरी दरबन्दीका लागि क्याबिनेटबाट ओएनएमको सैद्धान्तिक स्वीकृति गराएका छौँ,’ स्वास्थ्यमन्त्री पौडेलले भने, 'यसले स्वास्थ्य क्षेत्रमा केही सुधार ल्याउने विश्वास लिएको छु।'
कार्यक्रममा मन्त्री पौडेलले चिकित्सक र नर्सहरूलाई श्रम ऐनले व्यवस्था गरे अनुसार नै पारिश्रमिक दिनेगरी सरकारले काम अघि बढाइरहेको जानकारी पनि दिए।
चिकित्कसहरूको दैनिकी गुजारा गर्ने स्थिति मात्रै निर्माण गर्नसके विदेश जाने जनशक्ति कम हुने विश्वास व्यक्त गर्दै उनले श्रम ऐनले तोकेको पारिश्रमीक कम्तिमा उपलब्ध गराउनैपर्ने व्यवस्था कडाइका साथ लागू गर्नेगरी सरकार अघि बढिरहेको बताए।
‘कम्तिमा श्रम ऐनले व्यवस्था गरेबमोजिम स्किल्ड म्यानपावरलाई दिनुपर्ने न्युनतम तलब दिनुपर्छ । त्यो एकदम कडाईका साथ लागू गर्नेगरी अघि बढिरहेका छौँ । श्रम ऐनले तोकेको रकमले पनि पुग्दैन,’ मन्त्री पौडेलले भने, ‘एउटा नर्सलाई २२ हजारले, एउटा डाक्टरलाई ४८ हजारले दैनिकी गुजार्न सम्भव हुँदैन । यसलाई गुजारा गर्ने स्थिति मात्रै निर्माण गर्नसक्यौँ भने विदेश जाने क्रम रोकिन सक्छ ।’
चिकित्सकलाई दबाब मुक्त भएर काम गर्ने स्थिति निर्माण गर्न सरकारले कानुनी प्रबन्ध पनि अघि बढाएको उनको भनाइ थियो।