काठमाडौं– नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिलविक्रम कार्कीले नेपालमा रहेका दक्ष चिकित्सकलाई नेपालमै रहेर गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने वातावरण बनाउनुपर्ने बताएका छन्।
उनले नेपाली चिकित्सकलाई स्वदेशमै काम गर्ने वातावरण बनाउनुपर्ने संघको धारणा रहेको बताएका हुन्।
नेपालको दक्ष चिकित्सकहरु विदेश पलायन हुने क्रम बढिरहेकाले नेपालको लागि नेपाली चिकत्सक भन्ने नाराका साथ संघको ७५ औं स्थापना दिवस मनाइएको डा कार्कीले बताए।
विदेशमा रहेका नेपाली चिकित्सकहरुलाई स्वदेश फर्काउने वातावरण मिलाउन पनि जरुरी रहेको डा कार्कीको भनाइ छ। उनले नेपालको स्वास्थ्य क्षेत्रमा अझै विकास हुन नसक्दा नागरिकले गुणस्तरीय सेवा पाउन नसकेको पनि बताए।
‘स्वास्थ्य क्षेत्रमा विश्वभर आधुनिक प्रणालीको विकास भएपनि नेपालको स्वास्थ्य क्षेत्रमा अझैपनि समयसँगै उल्लेखनीय विकास हुन सकेको छैन,’ डा कार्कीले भने, ‘ जनशक्तिको अभाव तथा फितलो स्वास्थ्य नीतिका कारण दूरदराजका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवाबाट बञ्चित हुनुपर्ने अवस्था अझै कायमै छ।’
चिकित्सकमाथि समय समयमा हुने आक्रमण दुव्र्यवहार लगायतका घटनाहरुले गर्दा स्वास्थ्य सेवा प्रवाहमा गम्भीर समस्या उत्पन्न भइरहेको डा कार्कीले बताए।
यस्ता समस समाधानका लागि सरकारले बलियो स्वास्थ्य नीति तथा परिणाममुखी कार्यक्रमहरु लागु गर्नुपर्ने उनको तर्क छ।
उनले देशकै पहिलो व्यावसायिक संगठनको रुपमा फागुन २० गते २० जना सदस्य सहित संघको स्थापना भएको जानकारी दिए। उनका अनुसार हाल संघमा १४ हजार भन्दा बढी चिकित्सकहरु सदस्य छन्।
संघले नेपालीको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित हुनुपर्ने विषयलाई प्राथमिकतामा राखि काम गरिरहेको डा कार्कीले बताए।
संघको स्थापना कालदेखि नै एकता भ्रातृत्व र सेवालाई मूल उद्देश्य बनाउदै संघले चिकित्सकको हकहितका लागि आवाज उठाउने र नागरिकको स्वास्थ्य समस्याहरु समाधानका लागि पहलकदमी गर्दै आएको डा कार्कीले बताए।
उनले सबै चिकित्सकहरुलाई स्वास्थ्य क्षेत्रलाई बलियो र समृद्ध बनाउँदै स्वस्थ समाज निर्माणका लागि एकजुट भएर लाग्न आव्हान पनि गरेका छन्।