बुटवल- सिद्धार्थ बाल तथा महिला अस्पताल अन्तर्गत आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान रुपन्देहीले आम्दा नेपालको ३४ औं स्थापना दिवस जनस्वास्थ्यको कार्यक्रम गरेर मनाएको छ।
नेपालमा आम्दा स्थापना भएको दिनलाइ स्मरण गर्दै यो दिवस मनाइएको हो। यस अवसरमा आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानले नेपाल सरकारले फागुन महिनामा संचालन गरेको नसर्ने रोग पहिचान गर्ने अभियानलाई साथ दिदै नसर्ने रोगको स्क्रिनिङ र त्यस सम्बन्धी जनचेतना फैलाउने कार्यक्रम गरेको हो। कार्यक्रममा हेल्थ असिस्टेन्ट, नर्सिङ र फार्मेसी संकायक विद्यार्थीहरुले आफैले स्वास्थ्य शिक्षा सामग्री तयारी गरि स्वास्थ्य शिक्षा प्रदान गरेको जानकारी प्राचार्य सरिता रावलले जानकारी दिइन्।
सो कार्यक्रम भरी रक्तचाप मापन, बिएमआइ मापन, सुगरको मात्र जाँच र पिसाबमा प्रोटिन जाँच जस्ता जांचहरु नि:शुल्क रुपमा गरिएको थियो। कार्यक्रम अवधि भरमा १४६ भन्दा बढीले आफ्नो स्वास्थ्य जाँच गराएका छन्।
कार्यक्रममा सिद्धार्थ बाल तथा महिला अस्पतालका मेडिकल सुपारीटेन्डेन्ट डा विनोद पराजुलीले शुभकामना दिँदै कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए। साथै कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख एवं सिद्धार्थ बाल तथा महिला अस्पताल स्थानीय व्यवस्थापन समिति अध्यक्ष खेलराज पाण्डेयले स्टल अवलोकन गर्दै विद्यार्थी एवं शिक्षक शिक्षिकालाइ कार्यक्रमको सफलताको शुभकामना दिए।
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान रुपन्देहीले विगत २ वर्षदेखि सीटीईभीटी बाट सम्बन्धन प्राप्त गरि हेल्थ असिस्टेन्ट, नर्सिङ र फार्मेसी संकायकमा अध्ययन अध्यापन गराउँदै आएको छ। यो साझेदारी संस्था भएकोले अन्य प्राबिधिक शिक्षालय भन्दा कम मुल्यमा अध्यापन गराउँदै आएको छ।