काठमाडौं- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्ने भएको छ। साँझ ७ बजे मन्त्रिपरिषदको बैठक बस्न लागेको हो।
बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिक्त रहेको सचिव पदमा एक जना नियुक्त गर्ने सम्भावना रहेको छ। स्वास्थ्य सचिवका लागि तीन जनाको नाम सिफारिस भएको छ।
फागुन १२ गते आइतबार डा रोशन पोखरेलले अवकाश प्राप्त गरेदेखि रिक्त उक्त पदका लागि लोक सेवा आयोगको अध्यक्ष माधव शर्माको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले स्वास्थ्य मन्त्रालयका १२औं तहमा रहेका तीन जना डा संगिता मिश्र, विकास देवकोटा र डा टंक बाराकोटीलाई सिफारिस गरेको छ।
सचिवका आकांक्षीका रुपमा तीनैजनाले राजनीतिक शक्ति केन्द्रको दौड तीव्र पारेका छन्।
स्वास्थ्य सेवामा डा देवकोटा, १२ औं तहमा डा मिश्र अघि
मन्त्रालयको रेकर्डअनुसार स्वास्थ्य सेवामा डा विकास देवकोटा पहिले प्रवेश गरेको देखिन्छ। २०५३ सालमा मेडिकल अधिकृतका रुपमा उनी स्वास्थ्य सेवामा प्रवेश गरेका थिए। त्यसपछि डा टंक बाराकोटी २०५६ सालमा मेडिकल अधिकृतका रुपमा र डा संगिता भने २०५७ सालमा सेवा प्रवेश गरेको पाइन्छ। डा देवकोटा र डा बाराकोटी त्यसपछि निरन्तर छन् भने डा मिश्रले एक वर्ष काम गरेर जागिर छाडेकी थिइन्। २०७० असोज १० गते खुला प्रतिस्पर्धाबाट ११ औं तहमा नाम निकाल्दै पुन: स्वास्थ्य सेवामा प्रवेश गरेको देखिन्छ।
१२औं तह अर्थात अतिरिक्त सचिवमा बढुवा भने डा संगिता पहिले भएकी हुन्। उनी २०७९ असार २३ गते १२ औं तहमा बढुवा भएकी हुन्। डा विकास र डा टंक भने २०७९ चैतमा १३ गते बाह्रौं तहमा बढुवा भएका थिए।
स्वास्थ्य सेवामा लामो समयदेखि निरन्तर रहेका कारण डा विकासले मन्त्रालय मातहतका धेरै निकायहरुको जिम्मेवारी लिएको देखिन्छ। क्रमश: माथि पुगेका कारण डा विकासले मेडिकल अधिकृतदेखि जिल्ला अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय, अञ्चल अस्पताल, क्षेत्रीय अपताल हुँदै प्रदेशको स्वास्थ्य सचिवसम्मको जिम्मेवारी सम्हालेका छन्। डा देवकोटाले स्वास्थ्य मन्त्रालयको महत्वपूर्ण महाशाखाको प्रमुखको जिम्मेवारी समेत सम्हालेका छन्। कोभिडको समयमा नियमित स्वास्थ्य ब्रिफिङ गरेका थिए। डा देवकोटाले धेरै जिम्मेवारी सम्हालेपनि कुनैपनि विवादमा मुछिएका छैनन्।
डा संगिता मिश्रले मेडिकल अधिकृतका रुपमा एकवर्ष मात्र काम गरेर २०७० सालमा ११औं तहबाट फेरि स्वास्थ्य सेवाम प्रवेश गरिन्। त्यसयता उनले कोशी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको प्रमुख भएर काम गरिन् भने स्वास्थ्य सेवा विभागको महानिर्देशक भएकी छिन्। उनको ११ औं तह प्रवेशलाई लिएर तत्कालीन समयमा प्रश्न उठेपनि पछि साम्य भएको थियो।
डा टंक बाराकोटी पनि स्वास्थ्य सेवाको तल्लो तहदेखि माथिल्लो तहसम्म काम गरेका कर्माचारीका रुपमा चिनिन्छन्। उनी मेडिकल अधिकृतदेखि विभिन्न जिल्लाको निर्देशक समेत भएका छन्। त्यसपछि लामो समय मेची अस्पतालमा काम गरेका डाक्टर टंक १२औं तह बढुवा भएपछि मात्र मन्त्रालयमा आएका हुन्।