काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै विनियोजन गरेको थप ३ अर्ब रुपैयाँले यो आर्थिक वर्षको जम्मा २ महिनाको बक्यौता तिरिने भएको छ। स्वास्थ्य बीमा बोर्ड स्रोतका अनुसार उक्त रकमले यो आर्थिक वर्षको साउन र भदौको बक्यौता तिरिने भएको हो।
सरकारले चालु आर्थिक वर्षको बजेटमा स्वास्थ्य बीमाका लागि साढे ७ अर्ब बजेट विनियोजन गरेको थियो। उक्त रकम र थप बोर्डले संकलन गर्ने प्रिमियमबाट लगभग ४ अर्ब गरेर गत आर्थिक वर्षको बक्यौता तिरेको बताइएको छ।
बोर्डले हरेक वर्ष बढ्दो दायित्वले बक्यौता बढ्दै गएको विषयमा यसअघि नै स्वास्थ्य मन्त्रालयमार्फत् अर्थ मन्त्रालयमा पठाइसकेको छ। उक्त हिसाब अनुसार आर्थिक वर्ष २०८१/०८२ मा बीमाको भुक्तानी गर्नुपर्ने रकम १९ अर्ब पुग्ने अनुमान छ। बढ्दो दायित्वका कारण हरेक वर्ष सरकारले विनियोजन गर्ने ७ अर्ब र बोर्डको ४ अर्ब गरी ११ देखि १२ अर्ब मात्रै तिर्न सक्ने अवस्था छ र बाँकी बक्यौताका रुपमा रहँदै आएको देखिन्छ।
लामो समय बीमाले भुक्तानी दिन नसक्दा बेलामौकामा अस्पतालले सेवा रोक्ने गरेका छन्। यही विषयलाई मध्येनजर गर्दै केही दिनअघि स्वास्थ्य मन्त्री प्रदीप पौडेलले बजेट अभावमा अस्पताललाई भुक्तानी गर्न समस्या भएको बताएका थिए। चालु बजेटबाट बक्यौता भुक्तानी गर्नुपर्दा समस्या सृजना भएको संकेत गरेका थिए।
स्वास्थ्य बीमाबाट अस्पतालले हालसम्म दिएको सेवाको रकम भुक्तानी गर्ने विषयमा अनेयोल सृजना भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अर्थ मन्त्रालयबीच छलफल तय गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार शुक्रबारका लागि बैठक तय भएको छ। त्यसले उक्त विषयमा छलफल गरेर निकास निकाल्ने अनुमान गरिएको छ।
आर्थिक दायित्व बढ्दै गएको बीमा बोर्डको कार्यकारी अधिकृत र अध्यक्ष भने रिक्त रहेको छ। आगामी सोमबारसम्म दुबै नियुक्त हुन सक्ने अपेक्षा गरिएको छ।