काठमाडौं- क्यान्सर बिरामीको उपचारमा गोकर्णेश्वर नगरपालिकाले थप आर्थिक सहयोग गर्ने भएको छ। नगरपालिकाले आफ्ना नगरका स्थानीयले क्यान्सर रोगको उपचार गराउँदा नगरपालिकाबाट ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराउने भएको हो।
नगरपालिकाले उक्त सहयोग भक्तपुर अस्पतालमा उपचार गराउने बिरामीलाई गर्ने जनाएको छ। नगरपालिका र अस्पतालबीच यषस विषयमा सम्झौता समेत हुने भएको छ।
गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल, स्वास्थ्य संयोजक हरि उपाध्याय र स्थानीय डा सुवास प्याकुरेलले भक्तपुर क्यान्सर अस्पतालको स्थलगत अवलोकन गरेर उपलब्ध सेवा सुविधाका विषयमा जानकारी लिएका छन्। भक्तपुर क्यान्सर अस्पतालले प्रदान गरिरहेको उपचार सेवा प्रभावकारी पाइएपछि नगरपालिकाले क्यान्सर अस्पतालसँग सम्झौता गर्न लागेको हो।
क्यान्सर बिरामीलाई नगरपालिकाले दिने ५० हजार रुपैया अस्पताललाई सोधभर्ना गर्ने छ। सम्झौताका विषयमा भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा उज्ज्वल चालिसे र नगरपालिकाका मेयर रिसाल तथा डाक्टर प्याकुरेलबीच छलफल भएको छ।
भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा चालिसेले गोकर्णेश्वरका मेयर र स्वास्थ्य स्वास्थ्य संयोजकसँगको छलफल सकारात्मक भएको र उहाँहरुको स्वास्थ्य अभियानबाट आफु प्रभावित भएको बताए। आफ्ना नगरवासीलाई नगरअस्पतालबाटै गुणस्तरीय उपचार सेवा दिई रहेको गोकर्णेश्वरले गम्भिर प्रकृतिका रोगको उपचारका लागि विभिन्न विशिष्टकृत अस्पतालसँग सम्झौता गरेर नगरवासीको उपचारमा सहजिकरण गर्दै आइरहेको छ।
गोकर्णेश्वर नगरपालिकाको स्वास्थ्य अभियान नमुना भएको आफुले पाएको बताउदै डा चालिसेले नगरपालिकासँग सहकार्य गर्न भक्तपुर क्यान्सर अस्पताल तयार रहेको बताए।
क्यान्सर बिरामीको उपचारका लागि एक लाख रुपैया केन्द्रीय सरकारले सहयोग दिन्छ। नगरपालिकाले एक लाख रुपैया बराबरको स्वास्थ्य बीमा गरिदिएको छ। ५० हजार बाग्मती प्रदेश सरकारले दिन्छ। त्यसमा नपुगेको ५० हजार नगरपालिकाले दिए पछि गोकर्णेश्वरमा बिरामीले क्यान्सरको उपचार गराउनु पर्दा ३ लाख रुपैया सहयोग नै प्राप्त गर्ने छन्।
क्यान्सर विरामीका लागि उपचारमा सक्दो सहजिकरण गर्न नगरपालिकाले प्रयास गरिरहेको डा प्याकुरेलले बताए।