काठमाडौं- महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मिलिमल इनभेजिब डाइरेक्ट कोरोनरी आर्टरी बाइपास ग्राफ्टिङ (एमआईसिएबिजी) प्रविधिबाट मुटुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।
म्याग्दी गाउँपालिका १ तनहुँ घर भएका ४५ का एक पुरुषमा उक्त शल्यक्रिया गरिएको हो। मिनिमल इनभेजिब डाइरेक्ट कोरोनरी आर्टरी बाइपास ग्राफ्टिङ (एमआईसिएबिजी) प्रविधिबाट गरिएको शल्यक्रिया नेपालमै पहलो पटक भएको अस्पतालको दाबी छ।
उक्त व्यक्तिको चार वर्षअघि साउदी अरबमा ७० प्रतिशतभन्दा बढी मुटुको नशा बन्द भएको पत्ता लागेको र त्यहाँ नै मुटुको नशा खोल्दा स्टेन्टिङ गरिएको थियो। तर त्यो नशा पुन बन्द भएको र उनी आफ्नो उपचार गर्न नेपाल फर्किएका थिए। उनको पछिल्लो बिहीबार उक्त प्रविधिबाट शल्यक्रिया गरिएको थियो।
यो उच्चतम प्रविधि नेपालमा पहिलो पटक प्रयोग गरिएको थियो। यस प्रविधिमा परम्परागत रुपमा गरिने ओपन हार्ट शल्यक्रियामा जस्तो बिरामीको छातीमा ठूलो घाउ बनाउन पर्दैन। यो प्रविधिमा सानो प्वालबाट नै मुटुमा शल्यक्रिया गर्न सकिन्छ।
महाराजगञ्जस्थित मनमोहन सेन्टरका कार्डियोथोरासिक तथा भास्कुलर (सिटिभिएस) विभागीय प्रमुख एवं वरिष्ठ मुटु शल्यचिकित्सक डा अनिल भट्टराईको नेतृत्वमा उक्त शल्यक्रिया गरिएको थयो।
हाल बिरामीको अवस्था सामान्य रहेको र आइसीयूबाट वार्ड सारिएको एवं एक दुई दिनमा अस्पतालबाट डिस्चार्ज हुने डा अनिलले जानकारी दिए।
डा अनिल पछिल्लो समय नेपालमा नवीनतम प्रविधिको प्रयोग गरी सफलतापूर्वक मुटुको शल्यक्रिया गर्दै आइरहेका छन्।