सांकेतिक तस्विर काठमाडौं- नेपाल प्रहरी अस्पतालका रेडियोलोजिस्ट डा कृष्णमणी चापागाईं तीन महिनादेखि अस्पतालसँग 'सम्पर्कविहिन' रहेको भन्दै सार्वजनिक सूचना जारी गरिएको छ। नेपाल प्रहरीले उनलाई स्पष्टीकरण सहित हाजिर हुन आउने बारेको सूचना जारी गरेको हो।
जिल्ला पर्वत फलेबास नगरपालिका वडा नं. १० स्थायी घर भएका उनी नेपाल प्रहरी अस्पताल, रेडियोलोजी टेक्नोलोजी विभागमा कार्यरत थिए। उनी नेपाल प्रहरीको प्राविधिक प्रहरी नायव उपरीक्षक हुन्।
उनले २०८१ कात्तिक १४ देखि लागू हुने गरी दिन १५ दिने घर बिदा स्वीकृत गराई बिदा बसेको बताइएको थियो। पुनः थप घर बिदा दिन १४ गरी कुल २९ दिनसम्म लगातार बिदा बसी उक्त विदा भुक्तान गरेपछि पुस २५ गते अस्पतालमा हाजिर हुन आउनु पर्नेमा उनी नआएको सूचनामा उल्लेख छ।
कसैलाई कुनै जानकारी समेत नगराई गैरहाजिर रहेको र स्थायी वतनमा खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत पनि कार्यालयको सम्पर्कमा नआएको बताइएको छ।