काठमाडौं - विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले खर्च नियन्त्रणका लागि स्वेच्छिक अवकाशको प्रस्ताव अघि सारेको छ। किनिकि डब्लुएचओको सबैभन्दा ठूलो सहयोगी संयुक्त राज्य अमेरिका बाहिरिने तयारीमा छ।
डब्लुएचओले शुक्रबार इमेलमार्फत् जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'स्वेच्छिक अवकाश प्याकेज सबै कार्यस्थलका कर्मचारीहरूलाई प्रस्ताव गरिएको छ। यो योजना ५५ वर्ष भन्दा माथिका कर्मचारीहरूका लागि लक्षित गरिएको छ र स्वीकार गर्नेहरूले जुलाई १५ भित्र संस्थाबाट बाहिरिनु पर्नेछ।'
सामान्यत: डब्लुएचओले आफ्नो वार्षिक कुल बजेटको करिब पाँच भागमा एक भाग अमेरिकाबाट प्राप्त गर्ने गरेको थियो। तर राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई डब्लुएचओबाट निकाल्ने घोषणा गरेपछि डब्लुएचओलाई खर्च कटौतीका उपाय सोच्न बाध्य पारिएको हो।
अमेरिकाले डब्लुएचओको एचआईभी र अन्य यौनरोगसम्बन्धी कार्यक्रमहरूको लागि ७५ प्रतिशत सहयोग प्रदान गरिरहेको थियो र २०२४-२५ को बजेट अवधिमा क्षयरोग विरुद्धको अभियानको लागि आधाभन्दा बढी हिस्सा रकम अमेरिकाले उपलब्ध गराएको थियो।