काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालको कार्यकारी निर्देशकमा डा दीलिप शर्मा आउने पक्का भएको छ। डा शर्माले एक दुई दिनभित्र नै निर्देशकको जिम्मेवारी पाउने मन्त्रालय स्रोतले जानकारी दिएको छ।
वीर अस्पतालमा हाल निमित्त निर्देशकको जिम्मेवारीमा डा समाज गौतम रहेका छन्। मन्त्रालयले निमित्त निर्देशको स्थानमा निर्देशक नै नियुक्त गरेर पठाउन लागेको हो।
स्रोतका अनुसार डा दीलिपलाई न्याम्स ऐन अनुसार उपकुलपति डा भुपेन्द्र बस्नेतको सिफारिसमा सहकुलपति समेत रहेका स्वास्थ्य मन्त्री प्रदीप पौडेलले दुई वर्षे कार्यकालका लागि निर्देशकको जिम्मेवारी दिने छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि डा शर्मालाई नै वीर अस्पतालको निर्देशक बनाउन चाहेका छन्। डा शर्माले प्रधानमन्त्री ओली निकट छन्। डा शर्मा वीर अस्पतालमै कार्यरत वरिष्ठ कलेजो रोग विशेषज्ञ हुन्।
डा शर्माले यसअघि चिकित्सा शिक्षा आयोगको निर्देशक र नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रार भएर काम गरिसकेका छन्।