काठमाडौं- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा विवादमा धरान उपमहानगरपालिका मेयर हर्कराज राईले अर्को कदम चालेका छन्। प्रतिष्ठानको जग्गामा उपमहानगरको संरचना बनाउने मेयर राईको कदमको प्रतिष्ठान पदाधिकारीले विरोध गरेपछि उनले भवनहरुको नक्सापास मागेका हुन्।
आफू प्रतिष्ठानबिरुद्ध मुद्दा हाल्ने निर्णयमा पुगेको मेयर राईले बताएका छन्। प्रतिष्ठानलाई पठाएको पत्र सार्वजनिक गर्दै उनी लेख्छन्, 'कानुन नखोज्नु परो भन्छु खोज्न बाध्य बनाउँछन् ! धेरै कानुन खोजियो भने चल्न अप्ठ्यारो हुन्छ भनेको बुझ्दैनन् ! क्यार्नु त ! अब म पनि बि.पि. अस्पताललाई मुद्दा हाल्ने निर्णयमा पुगें !'
उनले स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा २७ को उपदफा १ बमोजिम नक्सा पास नगराई भवन निर्माण गर्न नहुने भन्ने व्यवस्था रहेको बताउँदै नक्सापास नगरी वा पास भएको नक्सामा स्वीकृति बेगर हेरफेर गरी भवन निर्माण गरेको वा गरिरहेको ठहरेमा जरिवाना हुने व्यवस्था रहेको बताएका छन्। पत्रमा लेखेका छन्, 'नक्सापास नगरी भवन बनाएको भए पाँच लाख रुपैया सम्म र पास भएको नक्सामा स्वीकृति बेगर हेरफेर गरी भवन बनाएको भए दुई लाख रुपैयाँसम्म जरिवाना गरी सो भवन वा त्यसको कुनै भाग भत्काउन सक्ने प्रावधान रहेको कारण ( २ ) तथा भवन निर्माण सम्बन्धी आधारभुत निर्माण मापदण्ड, २०७२ को दफा ८ अनुसार निर्मित भवन नियमित वा अभिलेखिकरण गर्नै पर्ने व्यवस्था भएको हुँदा कारण (३) धरान उपमहानगरपालिका वडा नं. १८ भित्र रहेको त्यस प्रतिष्ठानका सम्पूर्ण भवनहरुको समेत कानूनमा व्यवस्था भए बमोजिम नक्सा पेश गर्न हुन र नक्सा पास गराउन हुन जानकारीको लागि अनुरोध छ।'
प्रतिष्ठानका सवै भवनको उपमहानगरपालिका नक्सापास नरहेको रेकर्ड प्राप्त गरेपछि राईले उक्त कदम चालेको बुझिएको छ।