काठमाडौं- बागलुङ नगरपालिका वडा नं १४ मा ४० वर्षभन्दा माथिका नागरिकहरूको नसर्ने रोग स्क्रिनिङ, असल खानपान र सक्रिय क्षयरोगी खोज पड्तालको एक महिने अभियान सुरु भएको छ। कार्यक्रमको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले समापन गर्दै एक महिने प्रजनन रुग्णता तथा महिला स्वास्थ्य सवलीकरण सम्बन्धी जागरण अभियानको शुभारम्भ गरिएको छ। 'स्वस्थ मन, सुरक्षित जीवन,लैङ्गिक हिंसामुक्त समाज र सशक्त स्वास्थ्य आमा समूह हाम्रो अभियान' भन्ने मूल नाराका साथ एक महिने प्रजनन रुग्णता तथा महिला स्वास्थ्य सबलीकरण सम्बन्धी जागरण अभियानको शुभारम्भ गरेका हुन्।
नगरप्रमुख श्रेष्ठले वर्तमान अवस्थामा हाम्रो समाजमा नसर्ने रोग एउटा भयाभव तरिकाले बढ्दै गइरहेकाले यसलाई नियन्त्रणमा ल्याउनका लागि वडा र स्वास्थ्य संस्थाले महत्वपूर्ण भूमिका खेलेको बताएका छन्। 'यस किसिमका अभियान मार्फत समाजलाई रूपान्तरण गर्दै नसर्ने रोगका बिरामीहरूको खोज पड्ताल गरी उपचारको दायरामा ल्याउने र कार्यक्रमलाई जागरणको हिसाबले सञ्चालन गर्नुपर्छ,' उनले भने।
विशिष्ट अतिथिको प्रादेशिक जनस्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख घनश्याम सापकोटाले नसर्ने रोग र असल खानपान नङ र मासु जस्तै भएकाले असल खानपान, व्यवहार परिवर्तन र स्वस्थ जीवनशैली साथै व्यायाम र उपचारले नसर्ने रोगलाई नियन्त्रणमा ल्याउन सकिने धारणा व्यक्त गरे।
स्वास्थ्यचौकीले फागुन महिनालाई नसर्ने रोग स्क्रिनिङ असल खानपान र सक्रिय क्षरोगी खोज पड्तालको कार्यक्रमलाई सक्रियतापूर्वक सञ्चालन गरेको थियो। उक्त कार्यक्रममा ५७९ जना व्यक्तिको नसर्ने रोग स्क्रिनिङ गरिएको थियो। ५७९ जनामध्ये २८ जना मधुमेहका बिरामी ९ उच्च रक्तचापका नयाँ बिरामी ५३ प्रतिशतन मोटोपना भएका व्यक्तिहरू १८ जना शरीरमा गाँठागुठी भएका व्यक्तिहरू पत्ता लागेका थिए।
त्यस्तै १४९ जनामा हाइपोथाइरोइड र १२ जनामा हाइपरथाइराइडका लक्षण भएका बिरामीहरू पनि पत्ता लागेका थिए भने १२० जनालाई पाठेघरको मुखको क्यान्सरको जाँच गरिएको थियो। संस्थाले एक महिने महिला प्रजनन स्वास्थ्य रुग्णता र स्वास्थ्य आमा समूह सबलीकरण जागरण अभियान सञ्चालन गर्नेछ! कार्यक्रमको अध्यक्षता १४ नम्बर वडाका वडाध्यक्ष चक्रबहादुर खत्रीले गरेका थिए।