डोल्पा- जिल्ला अस्पताल दुनै डोल्पामा विशेषज्ञ डाक्टरहरूद्वारा निःशुल्क स्वास्थ्य शिविर सन्चालन भएको भएको छ। ब्याक टु लाइफ इ . भी को सहयोग र एचआरईएनडीसी मुगुको ब्यवस्थापनमा उक्त शिविर सञ्चालन भएको हो।
शिविरमा मुटुरोगमा विशेषज्ञहरु डा चन्द्रमणि अधिकारी, डा अमृत बोगटी, डा कृष्णचन्द्र अधिकारी र डा विजय घिमिरेले चेकजाँच गरेका थिए। उनीहरुले ४१९ जनाको मुटु परीक्षण (इकोकार्डियोग्राम- २३० जना को र ईसीजी ८५ सहित), उच्च रक्तचाप, मुटु रोग तथा छाती दुखाइसम्बन्धी परामर्श र उपचार गरेका हुन्।
त्यस्तै स्त्रीरोगमा स्त्रीरोग विशेषज्ञ नेतृत्व र रेडियोलोजिस्टको सहकार्यमा जाँच र उपचार भएको थियो। जहाँ डा इच्छा उप्रेती र डा कृष्ण बुढाथोकीले नेतृत्व गरेका थिए।
प्रजनन स्वास्थ्य समस्याहरूको निदान तथा उपचार, पाठेघर खस्ने समस्याका लागि पेसेरी रिङ्ग राख्ने सेवा, परिवार नियोजन परामर्श, गरी ४७५ जनालाई स्त्रीरोग सम्बन्धी परामर्श तथा युएसजी भिडियो एक्सरे ३५२ जना को गरिएको बताइएको छ। साथै स्वास्थ्य सेवा कार्यालय डोल्पाबाट महिलाको पाठेघरको मुखको क्यान्सर जाँच ४० जना महिलाको गरिएको छ।
बालरोग विशेषज्ञ डा रस्मिता श्रेष्ठ र डा देविका खड्काको नेतृत्वमा बाल रोग सम्बन्धी जाँच गरिएको थियो। दम, न्यूमोनिया जस्ता बालबालिकामा देखिने सामान्य रोगहरूको उपचार, बच्चाहरूको वृद्धिदर तथा विकास मूल्यांकन, अटिज्म स्पेक्ट्रम डिसअर्डर तथा एडीएचडी परीक्षण २०३ जनामा गरिएको थियो। समस्या देखिएकालाई बालरोग सम्बन्धी परामर्श तथा उपचार गरिएको छ।
नाक, कान घाँटी विशेषज्ञ/सर्जनको नेतृत्वमा सेवा दिइएको थियो। डा अरुण केसीको नेतृत्वमा ३४९ जनालाई कान, नाक, घाँटीसम्बन्धी रोगहरूको निदान तथा उपचार र सुन्ने क्षमता कम भएका २५ बिरामीहरूका सुन्ने क्षमताको जाँच गरिएको छ। २० जना बिरामीको कानको शल्यक्रिया चैत ५ र ६ गते गरिने भएको छ।
फिजिसियन डा करण राजवंशीले अन्य समग्र जाँच तथा उपचारको नेतृत्व गरेका थिए। उनको टिमले ५०३ जनाको जाँच गरेको गियो। विभिन्न स्वास्थ्य समस्याको निदान, उपचार र रोकथाम, दीर्घकालीन तथा नसर्ने रोगहरूको उपचार, मधुमेह , श्वासप्रश्वाससम्बन्धी रोगहरूको उपचार, दम, निमोनिया ब्रोन्काइटिस, पाचनप्रणाली सम्बन्धी समस्या समाधान, पेट दुखाइ तथा ग्यास्ट्राइटिस, कलेजो तथा आन्द्रासम्बन्धी समस्या, पाचन शक्ति कमजोर हुने समस्या संक्रामक तथा सामान्य रोगहरूको उपचार, तथा आवश्यक बिरामीको भिडियो एक्सरे पनि गरिएको थियो।
शिविरमा १ हजार ५९१ जाँच तथा उपचार सेवा लिएको अस्पतालका मेडिकल अफिसर डा अखण्ड उपाध्यायले जानकारी दिएका छन्। उनका अनुसार चेकजाँचका साथै औषधि वितरण निशुल्क गरिएको थियो।




