काठमाडौं - त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा मंगलबार स्ववियुको नेतृत्व चयनका लागि देशभरी नै मतदान जारी छ। चिकित्सा क्षेत्रका ४ महाराजगञ्ज मेडिकल कलेज, महाराजगञ्ज नर्सिङ क्याम्पस, आयुर्वेद क्याम्पस किर्तिपुर र वीरगञ्ज नर्सिङ क्याम्पसमा स्ववियु निर्वाच भइरहेको छ।
महाराजगञ्ज मेडिकल कलेजमा तीनजना प्रतिष्पर्धामा छन्। सभापतिमा नेविसंघबाट विवेककुमार यादव, अनेरास्ववियुबाट पंकज गुप्ता, अखिल क्रान्तिकारीबाट अशोक घर्ती मगर प्रतिष्पर्धामा छन् । नेविसंघले धेरैपटक जितेको यहाँ २०७३ र २०७९ को स्ववियु चुनावमा भने अनेरास्ववियुले जितेको थियो।
महाराजगञ्ज नर्सिङ क्याम्पसमा कांग्रेस निकट नेविसंघ बिन्दु पोखरेलको नेतृत्वमा चुनावमा होमिएको छ भने नेकपा एमाले निकट अनेरास्ववियु मनकुमारी बुढाको नेतृत्वमा अघि बढेको छ।
महाराजगञ्ज नर्सिङ क्याम्पसमा यसअघि निरन्तर अनेरास्ववियुले जित हासिल गर्दै आएकोमा यसपटक उक्त रेकर्ड तोड्ने कसरतमा नेविसंघ लागेको छ । नेविसंघकी उम्मेदवार बिन्दु पोखरेलका अनुसार नेविसंघले चुनाव जित्नका लागि झुठा र गर्न नसक्ने एजेन्डा नबाँडेकोले यस पटकको जित नेविसंघले हांसिल गर्नेमा आफु विश्वस्त रहेको बताउँछिन् । पोखरेलको नेतृत्वमा सचिवमा स्वस्तिका तिवारी, कोषाध्यक्षमा विनु भुर्तेल र सदस्यहरू रोजिना कार्की, सुदीप शाह, स्लेष्मा सुवेदी, दुर्गा विष्ट र निसा पराजुली रहेका छन्।
अनेरास्ववियुकी उम्मेदवार मनकुमारी बुढा भने विगतदेखि नै जित हांसिल गर्दै आएकोमा यसपटक पनि निर्वाचन जित्नेमा ढुक्क रहेको बताउँछिन् । ‘समावेशी प्यानल तथा कलेजका जुनसुकै समस्यामा सक्रिय सहभागिता नै हाम्रो जितको आधार हुन्’कुराकानीमा क्रममा उनले भनिन्। बुढाको नेतृत्वमा सचिवमा हेमराज न्यौपाने, कोषाध्यक्षमा आरती सापकोटा र सदस्यमा कविता बाँस्तोला, सुरक्षा पाठक, कविता श्रेष्ठ, प्रिया प्रधान र अनिता बुढा मगर चुनावमा उत्रिएका छन्।
आयुर्वेद क्याम्पस कीर्तिपुरमा नेपाल विद्यार्थी संगठनले निशान अर्यालको नेतृत्वमा स्ववियु निर्वाचन लडिरहेको छ भने अनेरास्ववियु, अनेरास्ववियु, अखिल क्रान्तिकारीले प्यानल बनाएर निर्वाचनमा होमिएका छन्, उनीहरुको साझा उम्मेदवारमा रुपमा रौसनकुमार ठाकुर रहेका छन्।
वीरगञ्ज नर्सिङ क्याम्पस सभापति पदका लागि तीनजना आकांक्षी छन्। नेपाल विद्यार्थी सङ्घको तर्फबाट दियांसु श्रेष्ठ, अनेरास्ववियुको तर्फबाट आर्जु राय र अखिल क्रान्तिकारीको तर्फबाट कविता आचार्यको उम्मेदवारी छ। तीनवटै सङ्गठनले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन्। वीरगञ्ज नर्सिङ क्याम्पसमा क्याम्पसमा १५ सदस्यीय कार्यसमितिका लागि निर्वाचन हुँदैछ।