काठमाडौं- सरकारी रेडियोग्राफी संघ नेपाल (गोरान) को दोस्रो वार्षिक साधारणसभा तथा कार्यशाला गोष्ठी काठमाडौंको पुरानो बानेश्वरमा सम्पन्न भएको छ।
नेपालमा सरकारी स्वास्थ्य क्षेत्रमा कार्यरत रेडियोग्राफी स्वास्थ्यकर्मीहरुको पेशागत संगठनको रुपमा रहेको सरकारी रेडियोग्राफी संघ (गोरान)ले 'रेडियोग्राफी रिबुट: फ्रम हिस्ट्री टु होराइजन; क्राफ्टिङ्ग नेपालस् पोलिसी ब्लुप्रिन्ट' विषयमा कार्यशाला गोष्ठी आयोजना गरेको थियो।
संस्थाका अध्यक्ष सह प्राध्यापक दामोदर रोक्काको अध्यक्षता सम्पन्न भएको सो कार्यक्रमको उदघाटन सत्रमा प्रमुख अतिथिका रुपमा आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्दै रेडियोग्राफीका प्राध्यापक एवं नेपाल रेडियोलोजीकल सोसाइटीका संस्थापक अध्यक्ष गणेश बहादुर पोखरेलले सो कार्यशाला अत्यन्त सान्दर्भिक रहेको विचार व्यक्त गरे।
संस्थाका महासचिव प्रकाश तिमल्सिनाले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी सचीव एवं कर्णाली प्रदेश संयोजक रेखा शर्मा राखेकी थिइन भने कार्यशालाको आवश्यकता, औचित्य, महत्त्व र विषयवस्तुबारे संस्थाका उपमहासचिव भीम थापा (अरुण) ले प्रकाश पारेका थिए।
संस्थाकी उपाध्यक्ष उपप्राध्यापक स्वेता जोशीको सहजीकरणमा भएको कार्यशालामा देशै भरिका विभिन्न सरकारी स्वास्थ्य संस्थामा कार्यरत उपस्थित विज्ञ रेडियोग्राफी स्वास्थ्यकर्मीहरु विभिन्न सात समुहमा विभाजन गरि छलफल गराइएको थियो ।
रेडियोग्राफी शिक्षा, रेडियोग्राफी क्षेत्रमा जनशक्तिको अवस्था, रेडियोग्राफी स्वास्थ्यकर्मीहरुको सरकारी पद, दरबन्दी तथा करियर ल्याडर, रेडियोगाफी सेवाको उपलब्धता, गुणस्तर तथा मुल्य, अनुसन्धानात्मक क्रीयाकलापको अवस्था जस्ता विषयवस्तुमा गहन छ्लफल गरि हरेक समुहले तोकिएको आ-आफ्नो विषयवस्तुमा राय सुझाव सहितको प्रस्तुतिकरण दिएका थिए।
नेपाल सरकारको स्वास्थ्य सेवामा 'रेडियोलोजी' र 'रेडियोग्राफी' फरक फरक सेवा समुह रहेको बताउँदै अस्पतालहरुमा रेडियोग्राफी समुहलाई रेडियोलोजी विभागभित्र एउटा शाखा जस्तो गरि सिमित राखिनु नियमसंगत एवं न्यायोचित नरहेको विचार व्यक्त गरेका थिए।
कार्यशालाका विशेष अतिथि एवं विषय विज्ञको रुपमा आफ्नो विज्ञ धारणा व्यक्त गर्दै चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक शान्तलाल श्रेष्ठले रेडियोग्राफीको रिबुट गर्ने 'रेडियोग्राफी विभाग' को अवधारणा सबैभन्दा प्रभावकारी माध्यम हुने सुझाव दिँदै रेडियोग्राफी शिक्षाको दायरा बढाउदै फेलोसिप, पोस्टग्राजुयट डिप्लोमा जस्ता सेवामुखि विशिष्टिकृत कोर्ष तथा दायरा र क्षेत्र टोकेर अल्ट्रसोनोग्राफी र रिपोर्टिङ टेक्नोलोजीष्ट जस्ता विषयहरुको समेत अध्ययन अध्यापन सुरु गर्नुपर्ने, निरन्तर व्यावसायिक विकाश (सिपिडि) जस्ता कार्यक्रम संचालन गर्न सुझाव दिएका थिए।
सो कार्यशालाबाट प्राप्त विषयवस्तु, राय र सुझावलाई एकीकृत गरि थप विज्ञ समुहद्वारा आवश्यक थप अध्ययन, अनुसन्धान र परिस्कृत गरि रेडियोग्राफी क्षेत्रको पोलिसि ब्लुप्रीन्ट तयार पारी संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल स्वास्थ्य व्यवसायी परिषद, चिकित्सा शिक्षा आयोग, प्रदेश सरकार र स्थानीय निकायहरुमा पेश गरिने र सो ब्लुप्रिन्टले ति सरोकारवाला निकायहरुलाई रेडियोग्राफीसम्बन्धी नीति, नियम तथा योजना तर्जुमा र पद, दरबन्दी एवं जनशक्ति आकलन गर्न मार्गनिर्देश गर्ने सो संस्थाका अध्यक्ष सह प्राध्यापक दामोदर रोक्काले जानकारी दिएका छ्न्।