काठमाडौं - नेपाली कांग्रेसका सांसद सुनिल कुमार शर्माले स्वास्थ्य बीमाको सुविधा थैलीलाई तत्कालै २ लाख बनाउन प्रस्ताव गरेका छन्।
बुधबार संसदमा धारणा राख्दै सांसद शर्माले स्वास्थ्य स्वास्थ्य बीमा बापतको सेवालाई तत्कालै २ लाख तथा विस्तारै ५ लाख रुपैयाँ बनाउनका लागि प्रस्ताव गरेका हुन्।
आकस्मिक स्वास्थ्य सेवाबाट कसैलाई वन्चित नगरिने कुरा संविधानमा नै उल्लेख गरिएपनि सरकारले बीमा बापत भुक्तानी दिन सक्दिन भन्नु लाचारीपन भएको उनको धारणा थियो।
'हुम्लाबाट काठमाडौं उपचारका लागि २ लाख बढी खर्च हुन्छ', उनले भने, 'सरकार व्यापारी होइन भने सम्भव भएसम्म स्थानीय स्तरमा नै स्वास्थ्य सेवा दिन सक्नुपर्छ।'
संसदमा उनले थप भने, 'स्वास्थ्य बीमालाई निमोठेर फाल्ने प्रपन्च रचिदैँछ। यो स्वास्थ्यमन्त्रीसँग मात्रै सम्बन्धित होइन,अर्थले बजेट नदिए स्वास्थ्यले केही गर्न सक्ने अवस्था छैन।'
न्यून आय भएकाहरुका लागि ३५ सय स्वास्थ्य बीमा प्रिमियम रकम पनि ठूलो भएको उनको टिप्पणी थियो।