काठमाडौं - काठमाडौं महानगरपालिका र वीर अस्पतालको सहकार्य हुने क्यान्सर स्क्रिनिङ्ग कार्यक्रम हुने भएको छ। आज स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र महानगर उपप्रमुख सुनिता डंगोलको उपस्थितिमा काठमाडौं महानगरपालिका र वीर अस्पतालबीच सम्झौता भएको छ।
सम्झौता अनुसार महानगरसँगको सहकार्यमा वीर अस्पतालमा स्तन, पाठेघर तथा पाठेघरको मुखको क्यान्सरको नियमित निःशुल्क परीक्षण हुने भएको छ।
काठमाडौं महानगरको स्वास्थ्य विभागले वीर अस्पतालसँगको सहकार्यमा वैशाख १२ गतेसम्म एक महिना क्यान्सर परीक्षण र उपचार सञ्चालन गर्नेछ।
सम्झौतापछि स्वास्थ्य मन्त्री प्रदीप पौडेलले महिलाहरुको स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सर स्क्रिनिङ्ग कार्यक्रम स्थानीय तहसँग जोड्न आवश्यक रहेको बताए।
उनले सरकारले चालु आर्थिक वर्षभित्र ५० लाख महिलाहरुमा स्तन, पाठेघर र सर्भाइकल क्यान्सर भए/नभएको पत्ता लगाउन स्क्रिनिङ्ग गर्ने लक्ष्य राखेको उल्लेख गरे। स्क्रिनिङको कार्यक्रम स्थानीय तहसम्म पुर्याउन सकेमात्र यो लक्ष्य हासिल हुने उनको भनाइ छ । उनले सरकाले गएको फागुन महिनालाई स्क्रिनिङ्ग अभियानको रुपमा सञ्चालन गरेको समेत बताए।
रोगको उपचारात्मक सेवामा सुधारसँगै रोग लाग्न नदिन सचतेतताका लागि यो कार्यक्रम आवश्यक रहेको भन्दै सहकार्यका लागि मन्त्री पौडेलले काठमाडौं महानगरप्रति आभार प्रकट गरे ।
'स्वास्थ्य क्षेत्रमा तीन सरकार बेग्ला बेग्लै होइन मिलेर सहकार्य गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो,' मन्त्री पौडेलले भने, 'मिलेर स्तन तथा पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि काठमाडौं महानगरसँगको सहकार्य हाम्रा लागि उत्कृष्ट प्रेरणा र उदाहरण हो ।'
काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोलले स्तन तथा पाठेघरको मुखको क्यान्सर महिलाका लागि ठूलो समस्या बनिरहेको अवस्थामा यस सहकार्यले महिलाहरुको जीवनरक्षा हुने विश्वास व्यक्त गरिन्।
न्याम्सका उपकुलपति भुपेन्द्र कुमार बस्नेतले क्यान्सर स्क्रिनिङ महानगरपालिकाको समन्वयमा हुन लागेको स्क्रिनिक कार्यक्रम निकै महत्वपूर्ण भएको बताए। क्यान्सरको उपचार सुरुवाती अवस्थामा हुन सके यसले भयावह स्थिती नल्याउने उनको भनाई थियो। महानगरसँगको सहकार्यमा यस्तो महत्वपूर्ण कार्यक्रम गर्न पाएकोमा आफू लगायत वीर अस्पतालका सम्पूर्ण कर्मचारी खुसी भएको उनले बताए ।
निर्देशक डा दिलिप शर्माका अनुसार सबै नागरिकका लागि निःशुल्क रहने सुविधा उपलब्ध गराउन काठमाडौं महानगरले आर्थिक सहयोग गर्नेछ भने वीर अस्पतालले अंकोलोजी वार्डमार्फत जनशक्ति व्यवस्थापन गर्नेछ।