काठमाडौं- स्वास्थ्य बीमा बोर्डका अध्यक्ष चन्द्रबहादुर थापाले पदबहाली गरेका छन्। उनले बुधबार दिउसो बबरमहलस्थित स्वास्थ्य बीमा बोर्डको कार्यालयमा पुगेर पदबहाली गरेका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गत सोमबार रिक्त अध्यक्ष पदमा थापालाई चार वर्षका लागि नियुक्त गरेका हुन्। थापाले मंगलबार नै पद तथा गोपनियताको सपथ लिएका थिए। थापाले यसअघि बोर्ड सदस्यको रुपमा तीन वर्ष काम गरेका थिए।
उनले पदवहालीसँगै स्वास्थ्य बीमा थप प्रभावकारी बनाउन आफू लागिपर्ने बताए। यसअघि बोर्ड सदस्यका रुपमा रहँदा महशुस गरेका विषयबाट त्यसको सुरुवात गर्ने उनको भनाइ छ।
उनले स्वास्थ्य बीमा कार्यक्रम सफल बनाउन औपचारिक क्षेत्रलाई समेट्नुपर्नेमा जोड दिए। उनले भने, 'स्वास्थ्य बीमा सफल भएका देशमा औपचारिक क्षेत्रबाट सुरु भएको छ। तर हामीकहाँ उल्टो जस्तो भयो।अनौपचारिक क्षेत्रबाट यो कार्यक्रम सुरु गरियो।'
स्वास्थ्यमा छरिएका कार्यक्रमलाई एकद्वारा नीतिबाट अघि बढाउने उनले उल्लेख गरे। बीमा कार्यक्रम अहिले समस्याग्रस्त रहनुमा आर्थिक एउटा पक्ष रहेको बताए। आर्थिक दीगोपनाका लागि सक्रिय हुने उल्लेख गरे। जनशक्ति व्यवस्थापन र डिजिटलाइजेसनमा पनि जोड दिनुपर्ने उनलदे बताएका छन्।