काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालका गर्भवती तथा नवजात शिशुमा देखिएको कुपोषणमा कमी ल्याउनका लागि एक अमेरिकी परोपकारी संस्थासँग सहकार्यका लागि प्रस्ताव गरेका छन्।
पोषणसम्बन्धी विश्व सम्मेलनमा भाग लिन फ्रान्सको राजधानी पेरिस पुगेका स्वास्थ्य मन्त्री पौडेलले अमेरिकी सहायता संस्था एलेनर क्रुक फाउण्डेसनका प्रमुख कार्यकारी तथा अनुसन्धान निर्देशक विलियम मुरसँग यस्तो प्रस्ताव गरेका हुन्।
पेरिसस्थित नेपाली दूतावासमा भएको बार्ता पछि फाउण्डेसनले सकारात्मक प्रतिक्रिया दिएको बताइएको छ।
नेपालमा अहिले गर्भवती महिलाहरुलाई आइरन चक्की दिइन्छ। तर त्यसमा आइरन र फोलिक एसिड भए पनि अन्य विभिन्न १५ तत्व अभाव रहेको विज्ञहरुले बताउने गरेका छन्।
गर्भवती महिला तथा नवजात शिशु दुवैमा कुपोषणमा भएको कमी हटाउन खुवाइने आइरन चक्कीको साटो कमी देखिएका १५ वटै तत्वको मिश्रण दिने सरकारको तयारी छ।
‘आर्थिक अभावमा मातृ शिशु स्वास्थ्य हेरचाह कमजोर नहोस् भन्नका लागि हामीले श्रोतको पहिचानका लागि प्रयास गरिरहेका छौं,’ मन्त्री पौडेलले भने, ‘यो वार्ता त्यसैको एक कडी हो। छलफलबाट हामी उत्साही छौं।’
केही महिनाभित्रै सहकार्य गर्न सकिने गरी खाका बनेको भ्रमणमा सहभागी परिवार कल्याण महाशाखा प्रमुख डा विवेककुमार लालले बताए। उनले भने, 'नेपालको मातृ शिशु कुपोषण सुधारमा सकारात्मक पहल भएको छ।'
नेपालमा कुपोषणका कारण हुने मातृ शिशु मृत्युदर कम गर्न गर्भवती महिलालाई दिइने पोषक तत्वको भूमिका महत्वपूर्ण हुने भएकाले यसमा हुने सुधारले महत्वपूर्ण अर्थ राख्ने डा लालले बताए।