काठमाडौं- द म्याक्स फाउन्डेसनकी नेपाल संयोजक श्वेता अग्रवाललाई 'प्यासेन्ट एड्भोकेसी अवार्ड' प्रदान गरिएको छ। अमेरिकामा गरिएको एक कार्यक्रममा फाउन्डेसनकी को-फाउन्डर तथा सीईओ प्याट गर्सिया-गोन्जालेजले उनलाई अवार्ड प्रदान गरेकी हुन्।
अग्रवाल फाउन्डेसनकी नेपाल संयोजक हुन्। फाउन्डेसनले अहिले अमेरिकामा विश्वका नेतृत्वदायी क्यान्सर रोग विशेषज्ञ तथा मेडिकल प्रोफेसनल, वार्षिक थिंकट्यांक मिटिङ तथा म्याक्सिमाइज लाइफ गाला २०२५ गरिररहेको छ। नेपालबाट पाटन अस्पतालमा कार्यरत क्यान्सर रोग विशेषज्ञ डा अरुण शाही सहभागी छन्।
डा शाहीले त्यहाँ आयोजित विभिन्न कार्यक्रममा नेपालमा क्यान्सरको उपचारका विषयमा आफ्ना प्रस्तुति राखेका छन्। फ्रेड हच सेन्टरमा आफ्नो प्रस्तुति राखेपछि डा शाहीले भने, 'फ्रेड हच क्यान्सर सेन्टर, सिएटल, अमेरिकामा भएको महत्वपूर्ण कार्यक्रममा सहभागी पाउँदा अत्यन्तै कृतज्ञ महसुस गरिरहेको छु। यो एक असाध्यै राम्रो अनुभव भयो- विश्वव्यापी विज्ञहरूसँग सिक्ने अवसर, आफ्नै अभ्यासका अनुभव आदानप्रदान गर्ने अवसर र विश्वभरका विशेषज्ञहरूसँग मित्रता निर्माण गर्ने अवसर प्राप्त भएको छ।'

उनले यो केवल विचारहरूको आदानप्रदान मात्र होइन, यो क्यान्सर उपचारलाई सुधार गर्न र नेपालका क्यान्सर बिरामीहरूलाई लाभ पुर्याउने दिशामा एक महत्वपूर्ण कदम रहेको बताए। उनले थपे, 'नयाँ सिकाइ, नवीन ज्ञान र अन्तर्राष्ट्रिय सहकार्यमार्फत् क्यान्सर उपचारमा अर्थपूर्ण परिवर्तन ल्याउन सक्छौं।'
फाउन्डेसनले नेपालसहित ८३ देशका गरिब क्यान्सरका बिरामीलाई नि:शुल्क औषधि दिँदै आएको छ। नेपालमा १३ प्रकारका क्यान्सरका औषधि प्रदान गरिरहेको फाउन्डेसनले पाटन, बिपी क्यान्सर अस्पताल चितवन र शुशील कोइराला प्रखर क्यान्सर अस्पताल नेपालगञ्जबाट नि:शुल्क प्रदान गर्दै आएको छ।