काठमाडौं- कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगलागी तथा तोडफोड गरिएको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राजावादी पक्षका आन्दोलनकारीले पार्किङमा रहेका गाडीबाट आगजनी सुरु गरेको प्रत्यक्षदर्शीले बताएका छन्। आगजनीबाट पार्किङमा राखिएका आधा दर्जन गाडी जलेका छन्।
साथै कम्पनीको अग्रभागमा ढुंगा प्रहार गरेर तोडफोड गरिएको छ। प्रहरीले अश्रुग्यास प्रहार गरेर अवस्था नियन्त्रणमा लिएको छ। परिस्थिति उग्र बनेपछि कर्फ्यु लगाइएको छ। व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा कर्फ्यु लगाएको छ । स्रोतका अनुसार तीनकुने क्षेत्रमा अराजकता बढ्दै गएको, सुरक्षाकर्मी र दमकलमाथि नै आक्रमण गर्ने क्रम बढेपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यु लगाउने निर्णय गरिएको हो ।
गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखक, प्रहरी महानिरीक्षक दीपक थापा, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीसहितको छलफलपछि कर्फ्यु लगाउने निर्णय भएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंका सूचना अधिकारीसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले केही बेरमा सूचना अपलोड हुने बताए ।