चितवन- खैरहनी नगरपालिकाले ६ महिना पूरा भई ३ वर्ष उमेर सम्मका विपन्न परिवारका बालबालिकाको लागि पोषण अनुदान वितरण कार्यक्रम सुरु गरेको छ। नगरपालिका भित्र स्थायी रुपमा बसोबास गर्ने अति विपन्न घर परिवारका बालबालिकाको पोषणमा सुधार ल्याइ सक्षम जनशक्ति विकास गर्न पोषण अनुदान कार्यक्रम सुरुवात गरिएको हो।
२०८१ चैत्र १५ गते नगरपालिका सभाहलमा आयोजित विपन्न बालबालिका पोषण अनुदान कार्यक्रम सम्बन्धी अभिमुखिकरण तथा पोषण लेखाजोखा कार्यक्रमको अवसरमा नगरपालिका भित्रका ९७ जना विपन्न बालबालिकालाई २०८१ श्रावण देखि नै लागु हुने गरि मासिक रु १२०० का दरले अनुदान रकम उपलब्ध गराउन आवश्यक सबै तयारी सम्पन्न भएको नगरपालिकाले जनाएको छ। कार्यक्रममको अवसरमा लाभग्राही बालबालिकाको पोषण स्थिको जाँच, स्वास्थ्य परिक्षण तथा अभिभावकलाई पोषणको महत्व सम्बन्धी अभिमुखिकरण कार्यक्रम समेत संचालन गरिएको थियो।
कार्यक्रमका अध्यक्ष समेत रहेका नगर प्रमुख शशी कुमार खनियाँले युरोप तथा जर्मनी मोडेलमा रहेर बालबालिकाको पोषण सुधारको अत्यन्तै महत्वकांक्षी योजना नगरले अगाडी बढाएकोले अभिभावकले प्राप्त अनुदान रकम केबल बाल्यकालिन पोषणमा खर्च गर्नुपर्ने र मद्यपान, धुम्रपान जस्ता कुलत र अन्य घर खर्चमा प्रयोग गरेको पाइएमा कडा कारवाही गरी अनुदान कटौतीसम्म हुन सक्ने भएकाले वडा कार्यालय मार्फत नियमित अनुगमनको लागि अनुरोध समेत गरे।
मन्तव्य कै क्रममा नगर प्रमुख खनियाले कार्यक्रम नियिमित रुपमा संचालन हुने हुँदा छुट भएका योग्य लाभग्राहीले वडा कार्यालयमा निवेदन दिएर अनुदान प्राप्त गर्न सक्ने बताए। कार्यक्रममा मन्तव्य राख्दै नगर उप-प्रमुख कविता उप्रेतिले २ वर्ष सम्म बालबालिकाको ८० प्रतिशत र ५ वर्ष सम्म ९० प्रतिशत मानसिक विकास हुने बताइन् । उनले मानसिक तथा शारिरिक विकासमा पोषणको अत्यन्तै उच्च महत्व रहेको हुँदा आफ्ना बालबालिकाको स्वास्थ्य सुधार अभिभावकको अपरिहार्य जिम्मेवारी रहेको उल्लेख गरिन्।
नगरपालिकाले आवस्यक सहयोग तथा परिक्षण र उपचारमा नियमित लगानी गर्ने प्रतिवद्धता राख्दै आ.व ८०।८१ मा २ वर्ष सम्मका बालबालिकाको लागि प्रदान गरिएको अनुदान रकम यस आ.व ८१।८२ मा ३ वर्ष पुर्याइएको र हरेक वर्ष उमेर समुह बढाउदै ५ वर्ष सम्मका बालबालिकालाई पोषण अनुदान प्रदान गरिने लक्ष्य राखिएको बताइन्।
जनस्वास्थ्य निरिक्षक नविन अधिकारीले पोषण तथा यसको महत्व, स्तनपानको फाइदा , कुपोषणको प्रभाव तथा लाभग्राहिका लागि आवश्यक योग्यता सम्बन्धमा प्रस्तुतिकरण राखेका थिए। नगरपालिकाले दैनिक १ अण्डा र १ गिलास दुध बराबरको लागत अनुमान अनुसार दैनिक ४० रुपैयाका दरले प्रति बालबालिका मासिक १२०० का दरले भुक्तानी दिन लागेको जनस्वास्थ्य निरिक्षक अधिकारीले बताए।
कार्यक्रममा करिब १५ लाख रुपैयाँ खर्च हुने र आगामि वर्ष देखि वार्षिक २० लाख भन्दा बढी रकम अनुदानमा खर्च हुने प्रक्षेपण नगरपालिकाले गरेको छ। हरेक चौमासिकमा अनुदान रकम भुक्तानी हुनु पर्ने भएपनि निवेदन संकलन कार्य तथा प्राप्त निवेदनमा अनुदानका लागि योग्य सूची भन्दा बाहिरबाट समेत धेरै निवेदन परेको हुँदा छानबिनमा धेरै समय खर्च भएकोले अनुदान रकम वितरणमा ढिलाई भएको नगरपालिकाले जनाएको छ।
कार्यक्रममा नगर प्रमुख शशीकुमार खनिया सहित नगर उप-प्रमुख कविता उप्रेती, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्र. सापकोटा, नगर शिक्षा अधिकारी राजु बानियाँ, विभिन्न वडाका वडा अध्यक्ष, स्वास्थ्य शाखा प्रमुख भोजराख खनाल, नगर अस्पताल प्रमुख डा गौरव घिमिरे, स्वास्थ्य शाखा तथा विभिन्न स्वास्थ्य संश्थाका स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लगायत सबै लाभग्राही अभिभावकहरुको सहभागिता रहेको थियो।