पोखरा- पोखरामा ज्येष्ठ नागरिकहरुलाई लक्षित गर्दै आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य सम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
पोखरा महानगरपालिका, स्वास्थ्य महाशाखाको आयोजनामा भएको शिविरको प्राविधिक सहयोगमा गण्डकी आयुर्वेद अस्पताल कास्कीले गरेको थियो। पोखरा महानगरपालिका वडा नं.२६ को समन्वयमा जलधारेमा १ दिने बृहत नि:शुल्क आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य (जेष्ठ नागरिक) शिविर सम्पन्न भएको हो।
राखी स्वास्थ्य चौकी, जलधारे टोलविकास संस्था, जलधारे ज्येष्ठ नागरिक केन्द्र, नमुना महिला समूहको व्यवस्थापन तथा सहयोग रहेको उक्त शिविरमा १११ जना ज्येष्ठ नागरिक अन्य २८१ जनाको निःशुल्क सुगर सहित स्वास्थ्य परीक्षण र आयुर्वेद औषधि वितरण गरिएको छ।
शिविरमा ३९ जनाको एकांग स्नेहन स्वेदन एवं २७ जनालाई अकुपन्चर तथा कपिंग सेवा पनि प्रदान गरिएको थियो।
यस्तै शिविरमा हाडजोर्नी रोग सम्बन्धि सेवा अन्तर्गत घुँडा र जोर्नीको समस्या, बाथ युरिक एसिड, नशा रोग सम्बन्धि सेवा अन्तर्गत प्यारालाइसिस, नशा च्यापिएको, हाड जोर्नी झमझमाउने, साइटिका, पायल्स, फिसर, फिस्टुला अन्तर्गत, दिसा गर्दा रगत आउने, पिप आउने, मलद्वार च्यातिएको, दिसा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको तथा जनरल फिजिसियन सेवा प्रदान गरिएको थियो।
नाक, कान, घाँटी रोग सम्बन्धी पिनास, माइग्रेन, नाकको एलर्जी, स्त्री तथा प्रसुतीरोग सम्बन्धि सेवा अन्तर्गत सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, बाँझोपना, पेट तथा छाति रोग सम्बन्धी ग्याष्ट्रिक, कब्जियत, अल्सर, दम, खोकी, निमोनिया र पिसाब रोग सम्बन्धी सेवा पनि प्रदान गरिएको थियो।
शिविरका लागि गण्डकी आयुर्वेद अस्पताल प्रमुख डा शंकर गौतमको नेतृत्वमा चिकित्सकीय टोली खटिएको थियो। टोलीमा डा नारायण पाण्डे, डा सुभाष भुजेल, डा रामकृष्ण भुजेल, सरिता अधिकारी, शरद आचार्य, लक्ष्मीदेवी शर्मा लगाएत कविराज, ल्याव टेक्निसियन, नर्सिङ स्टाफ, अकुपन्चर असिस्टेन्ट, अभ्यंगकर्ताहरु रहेका थिए।
