काठमाडौं- स्वास्थ्य सचिव नियुक्तिको विरोधमा डा संगीता मिश्रले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाई हुने भएको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेशी परेको छ।
पेशी पछाडि रहेपनि उक्त बेञ्चमा परेका अधिकांस मुद्दा हेर्न नमिल्नेमा परेपछि उक्त रिटमाथि सुनुवाईको पालो आउने देखिएको छ। यसअघि मंगलबार पेशी चढेको थियो तर हेर्न नभ्याइनेमा परेको थियो। त्यसअघि शुक्रबार भएको सुनुवाईमा सचिव नियुक्तिको निर्णय फाइल झिकाउने आदेश गरिएएको थियो।
गत फागुन २१ गतेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्य सचिवमा डा विकास देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको थियो। उक्त निर्णयपछि सचिवमा आफूलाई नियुक्त नगरेको भन्दै डा संगीता कौशल मिश्राले चैत १ गते सर्वोच्चमा रिट हालेकी थिइन्।
उनको रिटमा ३ गते प्रारम्भीक सुनुवाई गर्दै न्यायाधीश बालकृष्ण ढकालले सरकारका नाममा कारण देखाउ आदेश गर्दै अन्तरिम आदेशका विषयमा छलफल गर्न शुक्रबारलाई पेशी तोकेका थिए। सोही मुद्धामा शुक्रबार भएको सुनुवाईपछि फाइल झिकाउने आदेश भएको थियो।