काठमाडौं- स्वास्थ्य सचिव नियुक्तिको विरोधमा डा संगीता मिश्रले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाई फेरि पर सरेको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेशी थियो।
पेशी पछाडि रहेपनि उक्त बेञ्चमा परेका अधिकांस मुद्दा हेर्न नमिल्नेमा परेपछि उक्त रिटको सुनुवाईको पालो आउने सम्भावना थियो। तर फेरि उक्त पेशी हेर्न नभ्याइनेमा परेको हो। यसअघि पनि उक्त मुद्दा हेर्न नभ्याइनेमा परेको थियो।
गत फागुन २१ गतेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्य सचिवमा डा विकास देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको थियो। उक्त निर्णयपछि सचिवमा आफूलाई नियुक्त नगरेको भन्दै डा संगीता कौशल मिश्राले चैत १ गते सर्वोच्चमा रिट हालेकी थिइन्।
उनको रिटमा ३ गते प्रारम्भीक सुनुवाई गर्दै न्यायाधीश बालकृष्ण ढकालले सरकारका नाममा कारण देखाउ आदेश गर्दै अन्तरिम आदेशका विषयमा छलफल गर्न शुक्रबारलाई पेशी तोकेका थिए। सोही मुद्धामा शुक्रबार भएको सुनुवाईपछि फाइल झिकाउने आदेश भएको थियो।