काठमाडौं- गत शुक्रबार काठमाडौँको तीनकुने क्षेत्रमा भएको राजावादीको प्रदर्शनका क्रममा भएको झडपमा घाइते भएका १२८ जनामध्ये १३ जना उपचारमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उपचाररत १३ जनामध्ये ७ जना गोली लागेका तथा गम्भीर चोट लागेकाहरु रहेको बताइएको छ।
गम्भीर घाइते उनीहरु सबैको आकस्मिक शल्यक्रिया गरिएको छ। मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार प्रदर्शनका क्रममा घाइते भएकाहरुको वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, पाटन अस्पताल, निजामती कर्मचारी अस्पताल र काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल लगायतका अस्पतालहरुमा उपचार भएको छ।
सरकारले तीनकुने घटनाका घाइतेहरुको निशुल्क उपचार गर्ने घोषणा गरेको थियो । सोही अनुसार निशुल्क उपचार गर्ने व्यवस्था मिलाउन अस्पतालहरुलाई मन्त्रालयले निर्देशन दिएको छ। गम्भीर घाइते भइ उपचारमा रहेका अधिकांस सरकारी अस्पतालमै रहेको बुझिएको छ।
उक्त प्रर्दशनमा दुई जनाको मृत्यु भएको थियो। गम्भीर घाइते भएका सविन महर्जनको शिक्षण अस्पताल महराजगञ्ज पुर्याउने क्रममै मृत्यु भएकव थियो भने एभिन्युज टीभीमा कार्यरत पत्रकार सुरेश रजकको प्रदर्शनकारीले एक निजी घरमा लगाएको आगोमा परी जलेर मृत्यु भएको थियो।
-1743395412.jpg)