भरतपुर- नेपाल रेडक्रस सोसाइटी नारायणगढ उपशाखाले कालिका नगरपालिका १० सिद्धिमा निशुल्क पाठेघर जाँचका साथै सारी तथा औषधि वितरण गरेको छ। उपशाखाका सभापति कृपा राजभण्डारीको नेतृत्वमा आयोजित कार्यक्रममा सारी वितरण तथा पाठेघर जाँच गरिएको हो।
डा निर्मला श्रेष्ठ नेतृत्वको चिकित्सकको टोलीले ४८ जना महिलाको पाठेघर जाँच गरेका हुन्। सभापति राजभण्डारीका अनुसार सामान्य समस्या रहेकाहरुलाई त्यहीँ औषधि वितरण तथा उपचार गरिएको थियो। तर, गम्भीर समस्या रहेका ५ जना महिलाको थप उपचारका लागि अस्पताल जान सिफारिस गरिएको छ।
‘आफ्नो समस्या भन्न लजाउने र लुकाएर बस्ने स्थानीय महिलालाई चेकजाँचका साथै सारी समेत बाँड्ने कार्यक्रम थियो। उपलब्धीमूलक भएको छ,’ रावभण्डारीले भनिन्।
उनका अनुसार ९० जना महिलालाई सारी बाँडिएको थियो। कार्यक्रमको प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला सभापति हरि पौडेल रहेका थिए। उनले यस्ता कार्यक्रमले आमजनमा स्वास्थ्य सम्बन्धी चेतना फैलाउन मद्दत गर्ने बताए।
त्यसैगरी कार्यक्रममा वडाखध्यक्ष महेन्द्र प्रजा र वडासदस्य रोमन श्रेष्ठको समेत सहभागिता रहेको थियो।






