काठमाडौं- सांसद दीपक बोहराको निधन भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको हो। उनी रुपन्देही क्षेत्र नम्बर – ३ बाट निर्वाचित सांसद हुन्।
लामो समयदेखि अस्वस्थ उनको राजधानीको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले पुष्टि गरेका छन् ।
कोभिड – १९ महामारीको दोस्रो लहरको समयमा उनी संक्रमित भएका थिए। त्यतिबेलादेखी उनको स्वास्थ्यमा समस्या आएको थियो। संक्रमणबाट मुक्त भएपनि उनी बोल्न नसक्ने अवस्थामा पुगेका थिए।
त्यसको केही समयपछि उनको घाँटीमा क्यान्सर देखिएको थियो।
क्यान्सरको उपचारका लागि बोहरलाई भारतको दिल्ली र अमेरिकाको न्यूयोर्कसम्म पुर्याएका थिए।
उनी पूर्व स्वास्थ्य मन्त्री समेत हुन्। बोहोरा ३१ असोज २०७४ मा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए।