काठमाडौं- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालनमा रहेको एमआरआई मेसिन सेवा अवरुद्ध भएको छ।
एमआरआई सेवा बन्द हुँदा बिरामीहरु समस्यामा परेका छन्।
प्रतिष्ठानले एमआरआई मेसिन आपूर्ति गर्ने कम्पनीले सफ्टवेयर अपडेट नगरेका कारण सेवा अवरुद्ध भएको जनाएको छ।
प्रतिष्ठानले सफ्टवेयर अपडेट गर्न आवश्यक काम अगाडि बढाइएको पनि जनाएको छ।
'प्रतिष्ठानलाई एमआरआई मेसिन आपूर्ति गर्ने आपूर्तीकर्ता लुम्बिनी हेल्थ केयर प्रालीले प्रतिष्ठानसँग गरेको सम्झौता बमोजिम उक्त मेसिनको लाइफटाइम अवधिभर नि:शर्त सफ्टवेयर अपडेट गर्नु पर्नेमा सो नगरेका कारण हाललाई एमआरआई सेवा अवरुद्द भएको र सफ्टवेयर अपडेट गर्न/गराउन आवश्यक कारबाही अगाडी बढाइएको ब्यहोरा सम्पूर्ण सरोकारवालाहरूलाई सूचित गरिन्छ,' प्रतिष्ठानद्वारा जारी सूचनामा भनिएको छ।
मेसिन आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालीका अध्यक्ष पोष्टराज ज्ञवालीले प्रतिष्ठानले तीन वर्षदेखि दिनुपर्ने २० प्रतिशत रकमको भुक्तानी नगरेका कारण सफ्टवेयर अपडेट नभएको जानकारी दिए। उनले प्रतिष्ठानले रकम उपलब्ध गराएको भोलिपल्टनै सफ्टवेयर अपडेट हुने पनि बताए।
'प्रतिष्ठानले तीन वर्षदेखि भुक्तानी रोकेर राखेको छ। उहाँहरुले दिनुपर्ने रकम नदिएर रोकेर राख्नुभएको छ भने अहिले आएर हाम्रो कम्पनीको प्रतिष्ठा माथि आँच आउने गरी सूचना निकाल्नु भएको छ। यो त हामीमाथि अन्याय भयो नि,' ज्ञवालीले भने, 'यदी उहाँहरुले रकम भुक्तानी गर्ने हो भने भोलिबाट नै सफ्टवेयर अपडेट हुन्छ।'