अमेरिका – हावार्ड विश्वविद्यालयले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले संघीय अनुसन्धान बजेट रोक्ने निर्णयविरुद्ध बोस्टनस्थित संघीय अदालतमा मुद्दा दायर गरेको छ। हावार्डले ट्रम्प प्रशासनले विश्वविद्यालयको स्वतन्त्रता कमजोर बनाउने प्रयास स्वरूप केही मागहरू राखेको र ती माग अस्वीकार गरेपछि बजेट रोकिएको दाबी गरेको छ।
हावार्डले उजुरीमा भनेको छ, ‘यो मुद्दा सरकारको तर्फबाट विश्वविद्यालयको शैक्षिक निर्णयमा हस्तक्षेप गर्न संघीय बजेटलाई हतियारको रूपमा प्रयोग गर्ने प्रयास सँग सम्बन्धित छ।'
हावार्डले ट्रम्प प्रशासनको कदम अनुचित, अवैधानिक भएको र विश्वविद्यालयको अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन भएको दाबी गरेको छ।
ह्वाइट हाउसका प्रवक्ता ह्यारिसन फिल्ड्सले भने, ‘हावार्डजस्ता संस्थाहरुलाई दिइएको संघीय सहायता अब बन्द हुँदैछ। करदाता कोष विशेषाधिकार हो, र हावार्ड त्यो विशेषाधिकार प्राप्त गर्न आवश्यक आधारभूत मापदण्ड पूरा गर्न असफल भएको छ।'
राष्ट्रपति ट्रम्पले जनवरीमा कार्यभार सम्हाले पछि प्रमुख विश्वविद्यालयहरूलाई निशाना बनाउन थालेका छन्, हावार्डले गत वर्षको प्यालेस्टिनी समर्थक विरोध प्रदर्शनलाई गलत तरिकाले सम्हालेको र क्याम्पसहरूमा यहूदी (जुविस) विरोधी भावनालाई उब्जाउन दिएको आरोप लगाएका छन्। तर प्रदर्शनकारीहरू ( जसमा केही यहूदी समूह पनि छन्।
भन्छन्, 'गाजामा इजरायलका सैन्य कारबाहीहरूको आलोचनालाई गलत रूपमा यहूदी-विरोधीतासँग मिसाइएको बताएका छन्।'
हावार्ड ट्रम्प प्रशासनको यो कदम विरुद्ध अदालतमा मुद्दा दायर गर्ने पहिलो विश्वविद्यालय हो। मार्चदेखि ट्रम्प प्रशासनले हावार्डका लागि छुट्याइएको ९ अर्ब डलरको संघीय बजेटको समीक्षा सुरु गरेको थियो। त्यसपछि हावार्डलाई मास्क प्रतिबन्ध र विविधता, समानता र समावेशीता कार्यक्रमहरू हटाउने लगायतका मागहरू राखिएको थियो।
हालसम्म ट्रम्प प्रशासनले हावार्डका लागि छुट्याइएको २.३ अर्ब डलरको बजेट रोकिसकेको छ र विश्वविद्यालयको कर छुटको स्थिति र विदेशी विद्यार्थी भर्ना गर्ने अधिकार समेत खोस्ने धम्की दिइएको छ। साथै, विश्वविद्यालयका वैदेशिक सम्बन्ध, वित्त, विद्यार्थी र संकाय सदस्यहरूको विवरण माग गरिएको छ।
ट्रम्प प्रशासनले कोलम्बिया, प्रिन्सटन, कोर्नेल, नर्थवेस्टर्न र ब्राउन विश्वविद्यालयका केही बजेटहरू पनि अस्थायी रूपमा रोकिदिएको छ।
हावार्डका अध्यक्ष एलन गर्बरले भनेका छन्, ‘हामी घृणा विरुद्धको लडाइँ जारी राख्नेछौं र सबै प्रकारका भेदभाव विरुद्धका कानुनहरूको पूर्ण पालना गर्नेछौं।'
उनले आरोप लगाए कि सरकार हावार्डसँग अन्तरसंवाद गर्न खोज्नुको सट्टा विश्वविद्यालयको निर्णय प्रक्रियामै नियन्त्रण लिन चाहिरहेको छ। केही हावार्ड संकाय सदस्य र कोलम्बिया विश्वविद्यालयका प्राध्यापकहरूले समेत छुट्टै रूपमा ट्रम्प प्रशासनविरुद्ध मुद्दा हालेका छन्।
हावार्डको मुद्दामा नामित भएका निकायहरूमा स्वास्थ्य तथा मानव सेवा विभाग, ऊर्जा विभाग र शिक्षा विभाग समेत परेका छन्। ती निकायका प्रतिनिधिहरूले हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।