काठमाडौं- धुलिखेल अस्पतालमा विश्व प्रयोगशाला सप्ताह विभिन्न कार्यक्रम गरी मनाइएको छ। हरेक वर्ष अप्रिल २१ देखि २७ सम्म विश्वभरका मेडिकल प्रयोगशालाकर्मीहरुले ‘ल्याब वीक’ अर्थात प्रयोगशाला सप्ताह मनाउँदै आएका छन्।
सप्ताहकै अवसरमा धुलिखेल अस्पतालले पनि विभिन्न कार्यक्रमका साथ सप्ताह मनाएको हो। सप्ताहको सुरुवातमा ल्याब पेशाको सम्मान, जनचेतना र वैज्ञानिक योगदानको पहिचानका लागि धुलिखेल वरिपरी प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो।
प्रभातफेरीमा सहभागीले स्वास्थ्य सेवामा प्रयोगशालाको भूमिकालाई उजागर गर्ने ब्यानर र प्लेकार्ड बोकेर सन्देश प्रवाह गरेका थिए।
कार्यक्रम धुलिखेल अस्पताल-काठमाडौं विश्वविद्यालय अस्पतालअन्तर्गत ल्याबोरेटरी मेडिसिनका विद्यार्थी तथा बायोकेमिस्ट्री, माइक्रोबायोलोजी र प्याथोलोजी विभागका शिक्षकहरूको सहभागितामा मनाइएको हो।