अमेरिकामा दादुरा रोग २५ वर्षअघि नै उन्मुलन भएको घोषणा गरिएको छ। तर हाल अमेरिकामा पुन: जोखिम उच्च बन्दै गएको अनुसन्धानकर्ताहरूले चेतावनी दिएका छन्।
अनुसन्धानकर्ताहरुका अनुसार अमेरिकामा बालबालिकामा हाल लगाइएको खोपको दरका आधारमा हेर्दा फेरि दादुरा उच्च स्तरमा फैलन सक्ने सम्भावना रहेको छ। खोप लगाउनेको दरका आधारमा आगामी २५ वर्षमा अनुमानित ८ लाख ५१ हजार ३ सय जनामा दादुराको केस देखिन सक्ने विज्ञहरुले चेतावनी दिएका छन्।
'यदि दादुरा, मम्प्स र रुबेला (एमएमआर) खोपको दर १० प्रतिशतले घट्यो भने, यो संख्या १ करोड ११ लाख पुग्ने अनुमान छ,' विज्ञहरुले भनेका छन्।
सन् २००० पछि दादुरा अमेरिकामा स्थानीय रूपमा नरहेको भए पनि पछिल्ला वर्षहरूमा एमएमआर खोपसहित बालबालिकाका अन्य नियमित खोपको दर घट्दै गएको छ, जसले रोकथाम गर्न सकिने रोगहरू पुनः देखिन थालेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्।
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)को तथ्यांक अनुसार सन् २०२५ को सुरुवातदेखि अहिलेसम्म अमेरिका भर कम्तिमा १० वटा दादुराका प्रकोप देखा परेका छन्। जसमा ८ सय भन्दा बढीमा दादुरा रोग देखिइएको छ। विशेषगरी टेक्ससमा मात्रै ६२४ केस र दुई जनाको मृत्यु भइसकेको सिडिसीले जनाएको छ।
'सन् २०२४ मा २८५ केस रिपोर्ट भएका थिए, जबकि यो वर्षको मात्र चार महिनामै १८० प्रतिशत वृद्धि भइसकेको छ,' सिडिसले भनेको छ, 'हाल टेक्सास, न्यु मेक्सिको र ओक्लाहोमामा फैलिएको प्रकोप कम खोप दर भएका समुदायहरूमा केन्द्रित रहेको छ। कुल केसमध्ये ९६ प्रतिशत संक्रमितहरू खोप नलगाएका वा खोप स्थिति अज्ञात रहेका छन्।'
स्ट्यानफोर्ड मेडिकल स्कूलका अनुसन्धानकर्ता डा नाथन लोका अनुसार यस्तो अवस्थामा अझै खोप दर घटेमा स्थिति भयावह बन्न सक्छ।
'यदि नियमित बाल खोपको दर ५० प्रतिशतले घट्यो भने अमेरिकामा २५ वर्षभित्र ५ करोड १२ लाख दादुराका केस, ९९ लाख रुबेलाका केस, ४३ लाख पोलियोका केस, १ लाख ५९ हजार २ सय मृत्यु, १० लाखभन्दा बढी अस्पताल भर्ना र ५१ हजार जनामा लामो समयसम्मको स्नायुगत असर देखिनेछन्,' उनल भने।
५ प्रतिशत मात्र खोप दर बढ्दा पनि दादुरा फेरि स्थानीय रूपमा फैलिनबाट रोकिन सक्छ। तर हालको दरमा खोप दिन छाड्ने हो भने अन्य रोगहरू जस्तै रुबेला र पोलियो पनि फेरि स्थानीय बन्ने खतरा उत्तिकै रहने विज्ञहरुले बताएका छन्।
डा मुजीब बासितका अनुसार कुनै पनि निश्चित संख्या अनुमान गर्न गाह्रो भए पनि मुख्य कुरा प्रवृत्ति (ट्रेन्ड) हो। ‘यदि खोप दर ५ प्रतिशतले घट्यो भने हजारौं संक्रमित देखिन्छन्,’ उनले भने, 'तर १५ प्रतिशतले घट्दा कुरा करोडमा पुग्न सक्छ।‘