आज मे अर्थात् अन्तर्राष्ट्रिय नर्सिङ दिवस। ‘लेडी विथ द ल्याम्प’ को नामले विश्वप्रसिद्ध आधुनिक नर्सिङकी जन्मदाता फ्लोरेन्स नाइटिंगेलको जन्मदिनको अवसरमा यो दिवस संसारभर मनाइन्छ।नेपालमा पनि विभिन्न कार्यक्रम गर्दै मनाइएको छ। नर्सिङ पेशामा लाग्नेहरूका लागि यो दिन प्रेरणादायी र विशेष छ।
फ्लोरेन्सको सेवाभाव, त्याग, समर्पण र प्रशंसनीय योगदानको कदर गर्दै यो दिन नर्सहरूले उत्साहका साथ मनाउँछन्। नर्सिङ पेशा सेवाभावले प्रेरित छ। गुणस्तरीय स्वास्थ्य सेवाको आधारस्तम्भ वा मेरुदण्ड भनेको नै नर्सिङ सेवा हो। कुनै पनि स्वास्थ्य संस्था वा अस्पतालमा नर्सिङ सेवा व्यवस्थित छ भने त्यहाँको स्वास्थ्य प्रणाली स्वतः गुणस्तरीय हुन्छ र बिरामीले उत्कृष्ट सेवा पाउँछन्।
नेपाल नर्सिङ परिषद्को तथ्यांक (२०८१/१२/१३ सम्म) अनुसार नेपालमा १,६९५ विशेषज्ञ नर्स, ८५,७७८ नर्स, ३७,५२८ अनमी र ९१ मिडवाइफ दर्ता छन्। यो ठूलो जनशक्तिले नेपालको स्वास्थ्य प्रणालीलाई धानिरहेको छ। तर उनीहरूको अवस्था भने सन्तोषजनक छैन।
'हाम्रा नर्स, हाम्रो भविष्य: नर्सहरूको संरक्षण गरौं, अर्थतन्त्र सबल बनाऔं' भन्ने यो वर्षको नाराका साथ नर्सिङ दिवस मनाइरहँदा, नर्सहरूका दुख र पिडा भने ज्यूँकात्यूँ छन्। नर्सिङ दिवसको उत्सव मनाइरहँदा रंगीन पर्दाभित्र नर्सहरूको जीवनमा लुकेको दुख र चुनौतीको कथा पनि उत्तिकै गहिरो छ।
नर्सहरूले सामना गर्नुपरेका प्रमुख समस्याहरू यस्ता छन्:
न्यून पारिश्रमिक र असमान सेवा-सुविधा: समयमा तलब नपाउने, महिनौंसम्म तलब रोकिने र तलबले आधारभूत आवश्यकता पनि पूरा नहुने अवस्था छ। स्नातकोत्तर गरेका नर्सहरू डिप्लोमा स्तरको तलबमा काम गर्न बाध्य छन्।
कार्यस्थलमा असुरक्षा: बिरामीको अवस्था बिग्रँदा स्वास्थ्यकर्मीमाथि आक्रमण हुने घटनाले नर्सहरू असुरक्षित महसुस गर्छन्।
कम जनशक्तिमा बढी जिम्मेवारी: थोरै नर्सले धेरै बिरामीको हेरचाह गर्नुपर्दा कार्यबोझ बढेको छ, जसले मानसिक स्वास्थ्यमा असर परिरहेको छ।
वृत्ति विकासको अभाव: उच्च शिक्षा, अनुसन्धान, तालिम र बढुवाको अवसर न्यून छ। दरबन्दीअनुसार पदस्थापन नहुँदा योग्यताअनुसारको जागिर पाउन कठिन छ।
आश्वासनको खेती: प्रधानमन्त्रीदेखि स्वास्थ्य मन्त्रीसम्मले नर्सहरूको सेवा-सुविधा र रोजगारीको सुनिश्चितताबारे ठूला-ठूला भाषण दिन्छन्, तर कार्यान्वयन पक्ष फितलो छ। हालै नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक हिरा कुमारी निरौलाले निजी अस्पतालमा सरकारी सरह सेवा-सुविधा दिन पत्र पठाएको दाबी गरिन्, तर यस्ता कुरा प्रायः भाषणमै सीमित हुन्छन्। हामी उक्त भाषणको कार्यान्वयनको व्यग्र प्रतिक्षामा छौं। बिरामीको पीडामा त नर्सले मल्हम लगाउँछन् तर नर्सको पीडामा मल्हम कसले लगाउने?
बाध्यता र विदेश पलायन
नर्सहरूको अवस्था यस्तो छ कि उनीहरूले आफ्नो दुख लुकाएर मुस्कानसहित बिरामीको सेवा गर्छन्। तर, यो मुस्कानले उनीहरूको गहिरो घाउ लुकाउन सधैं सक्दैन। न्यून तलब, असुरक्षा, असमान सेवा-सुविधा र सम्मानको अभावले धेरै नर्सहरू विदेश पलायन भइरहेका छन्। कतिपयले पेशा नै परिवर्तन गरिरहेका छन्। यो अवस्था कायम रहे निकट भविष्यमा नेपालमा नर्सको अभाव हुने निश्चित छ।
नर्सिङ संघ-संगठनको भूमिका
नर्सहरूको हकहितका लागि स्थापित नर्सिङ एसोसिएसनका पदाधिकारीहरूले कति अस्पतालमा पुगेर नर्सहरूका समस्या सुने? कति समस्याको समाधानमा हातेमालो गरे? यी प्रश्नहरू नर्सहरूको मनमा उब्जिरहेका छन्। उनीहरूको उत्तरदायित्व केवल चुनाव जित्नेमै सीमित हुनुहुँदैन।
आफैं दुखी भएर, निराश भएर कसरी अरूलाई खुशी र सेवा दिन सकिन्छ? आफ्नै घाउ बोकेर कसरी अरूको मल्हम बनिदिन सकिन्छ? नर्सहरूको यो प्रश्नको जवाफ न राज्यले दिएको छ, न अस्पतालले, न त कुनै संस्थाले। नर्सहरूको आवाज बनेर बोलिदिने कोही नहुँदा उनीहरूको अवस्था यस्तो भएको हो।
नर्सिङ सेवाका चुनौती केवल नर्सहरूका मात्र होइनन्, यो देशको, समाजको र समग्र स्वास्थ्य प्रणालीको समस्या हो। नर्सहरू स्वास्थ्य क्षेत्रको मेरुदण्ड हुन्। उनीहरूमा समस्या आयो भने समग्र स्वास्थ्य प्रणाली नै अपांग हुन्छ।
अबको बाटो के त?
सेवा-सुविधामा एकरूपता: नर्सहरूको तलब र सेवा-सुविधा सरकारी मापदण्डअनुसार सुनिश्चित गर्नुपर्छ।
रोजगारीको व्यवस्था: स्वदेशमै उत्पादित नर्सहरूका लागि रोजगारीको ग्यारेन्टी गर्नुपर्छ।
कार्यस्थल सुरक्षा: स्वास्थ्यकर्मीमाथि हुने आक्रमण रोक्न कडा कानुन र कार्यान्वयन आवश्यक छ।
वृत्ति विकास: उच्च शिक्षा, तालिम र अनुसन्धानका अवसर प्रदान गर्नुपर्छ।
संघ-संगठनको सक्रियता: नर्सिङ एसोसिएसनले नर्सहरूको समस्या समाधानमा ठोस कदम चाल्नुपर्छ।
नर्सहरूको मुस्कानभित्रको दुखलाई बुझ्ने र समाधान गर्ने समय अहिले नै हो। हेक्का रहोस् नर्स स्वास्थ्य क्षेत्रका मेरुदण्ड हुन्। उनीहरूको घाउमा मल्हम लगाउन ढिला भयो भने स्वास्थ्य क्षेत्र मात्र होइन, समग्र समाज र देशले ठूलो मूल्य चुकाउनुपर्नेछ। नर्सहरूको सम्मान, सुरक्षा र सेवा-सुविधा सुनिश्चित गरौं, किनकि उनीहरू नै हाम्रो स्वास्थ्य प्रणालीको आधारस्तम्भ हुन्। पछि पछुताउनुभन्दा अहिले नै विचार गरौं!