काठमाडौं- पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धि प्रसाद पौडेलले पदबहाली गरेका छन्। उनले बिहिबार उपकुलपतिका रुपमा सपथ लिएपछि प्रतिष्ठान पुगेर पदबहाली गरेका हुन्।
चिकित्सा क्षेत्रको सबैभन्दा भूइँतह सीएमए (अहेव)देखि चिकित्सा शिक्षाको उच्च तहसम्म अध्ययन/अध्यापन हुने संस्थाको नेतृत्वसम्म उनी पुगेका छन्।
२०४३ सालमा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत पाल्पाको तानसेनस्थित सीएमए क्याम्पसबाट १२ महिने सीएमए तालिम पूरा गरेका २०४७ मा महाराजगञ्ज मेडिकल क्याम्पसमा हेल्थ असिस्टेन्ट (एचए) गरे।
२०५० सालमा महाराजगञ्ज मेडिकल क्याम्पसमा एमबिबिएस भर्ना भएका उनले २०५५ मा गोल्डमेडलसहित एमबिबिएस पास गरेका हुन्। एक वर्षे इन्टर्नशिपपछि २०५६ सालमा पाटन अस्पतालमा मेडिकल अफिसरका रूपमा कार्य प्रारम्भ गरे।
उनले पाटन अस्पताल करिब १८ महिना मेडिकल अफिसरका रुपमा मेडिसिन विभागमा सेवा गरे। त्यसपछि उनलाई इन्टरनल मेडिसिन विषयमै पोस्ट ग्र्याजुयसन गर्नुपर्छ भन्ने लाग्यो र त्यही अनुरुप २०५८ सालमा त्रिभुवन विश्वविद्याल चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जमा एमडी इन्टरनल मेडिसिनमा भर्ना भए। २०६१ सालमा उक्त कोर्स पूरा भयो।। तत्पश्चात २०६१ सालमा इन्टरनल मेडिसिन विभागको रजिष्ट्रार पदमा पाटन अस्पतालको मेडिसिन विभागमा आवद्ध हुन पुगे। प्राडा पौडेल हालसम्म उक्त विभागमै कार्यरत छन्।

बाथरोगमा विशेषज्ञता गर्ने चाहना उनलाई आफ्नै बुवालाई दुख दिएपछि जागेको हो। उनका बुवालाई कडा किसिमको बाथरोग भयो। तर त्यो समयमा नेपालमा बाथरोग विशेषज्ञ (र्युमाटोलोजिष्ट) थिएनन्। उनलाई लाग्यो- त्यो अभाव मै पूरा गर्छु। त्यसैअनुसार उनले २०६५ सालमा क्यानडाको विश्व प्रसिद्ध युनिभर्सिटी (युनिभर्सिटी अफ टोरन्टो) बाट एडल्ट र्युमटोलोजी विषयमा क्लिनिकल फेलोशिप पूरा गरे।
यस अगाडी उनले इटलीको ‘युनिभर्सिटी अफ क्याटानिया’बाट क्लिनिकल इन्डोक्राइनोलोजी बिषयमा पनि क्लिनिकल फेलोशिप पूरा गरिसकेका थिए। यस अघि उनले २०६२ चैत्रमा इन्टरनेशनल डायबिटिज फेडेरेसनको ‘लाइफ फर चाइल्ड’ कार्यक्रम पहिलोपटक नेपालमा पहिलोपटक भित्र्याए, जसले २५ वर्षमुनिका टाइप १ डायबिटिज भएका बालबालिकालाई निःशुल्क एचबीए१सी जाँच, इन्सुलिन र ग्लुकोमिटर प्रदान गर्छ । पाटन अस्पतालबाट सुरु भएको यस कार्यक्रम हाल देशका विभिन्न अस्पतालमा विस्तार भएको छ, जसले सयौं मधुमेही बालबालिकाको उपचारमा उल्लेखनीय सुधार ल्याएको छ।
सन् २०१८ देखि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नेपालमै पहिलो दुई वर्षे र्यूमटोलोजी फेलोसिप कार्यक्रम सुरु गरे, जसबाट हालसम्म ६ जना बाथरोग विशेषज्ञ उत्पादन भई देशविदेशका नामुद अस्पतालमा सेवारत छन् भने हालको व्याचमा दुईजना अध्ययनरत छन्। मेडिकल अफिसरबाट सुरु भएको सेवा यात्रा आज पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको इन्टरनल मेडिसिन विभागको प्रमुख हुँदै उप कुलपतिसम्म पुगेको छ।
यो पनि पढ्नुहोस्
प्राडा बुद्धिको 'सीएमए टू पाटनको भीसी' यात्रा : संघर्षका सिढी उक्लेर पाएको सफलता