काठमाडौं- आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले दुई नयाँ सम्भावित एन्टिबायोटिक औषधि विकास गरेको अनुसन्धानकर्ताहरूले बताएका छन्, जसले औषधि-प्रतिरोधी गोनोरिया र एमआरएसए (मेथिसिलिन-रेजिस्टेन्ट ) जस्ता खतरनाक ब्याक्टेरियालाई मार्न सक्छ।
यी औषधिहरू एआईले अणु–अणु जोडेर डिजाइन गरेको हो र प्रयोगशाला परीक्षणसँगै जनावरमा गरिएको परीक्षणमा पनि यी ‘सुपरबग्स’ मार्न सफल भएको बीबीसीले उल्लेख गरेको छ।
तर यी कम्पाउन्डहरू अझै वर्षौंसम्म परिष्कृत गर्नुपर्नेछ र मानवमा परीक्षणका लागि लामो प्रक्रिया पार गर्नुपर्नेछ। त्यसपछि मात्र प्रिस्क्रिप्सनका रूपमा सामान्य प्रयोगका लागि उपलब्ध हुनेछन्।
मैसाचुसेट्स इन्स्टिट्यूट अफ टेक्नोलोजी (एमआईटी) का वैज्ञानिकहरूको टोलीले भनेको छ, 'एआईले एन्टिबायोटिक खोजमा दोस्रो स्वर्णयुग सुरु गर्न सक्छ।'
एन्टिबायोटिक प्रतिरोधको समस्या
एन्टिबायोटिक औषधिले ब्याक्टेरियालाई मार्छन्, तर अब उपचार–प्रतिरोधी संक्रमणका कारण हरेक वर्ष १० लाखभन्दा बढी मानिसको ज्यान जाने गरेको छ।
अत्यधिक एन्टिबायोटिक प्रयोगले ब्याक्टेरियालाई दवाइको प्रभावबाट जोगिने क्षमता विकास गर्न सहयोग पुर्याएको छ। साथै, दशकौंयता नयाँ एन्टिबायोटिकको खोजमा कमी आएको छ।
यसअघि एआई प्रयोग गरेर हजारौं रासायनिक कम्पाउन्ड परीक्षण गरिएका थिए, तर यो पहिलो पटक एमआईटी टोलीले जेनेरेटिभ एआई प्रयोग गरेर सुरुदेखि नै नयाँ औषधि डिजाइन गरेको हो।
अनुसन्धान कसरी भयो?
शोध सेल नामक जर्नलमा प्रकाशित भएको छ। यसमा ३ करोड ६० लाखभन्दा बढी कम्पाउन्डको अध्ययन गरिएको थियो, जसमा केही अहिलेसम्म अस्तित्वमै नभएका वा खोजिएका नभएका संरचना पनि थिए।
वैज्ञानिकहरूले एआईलाई उपलब्ध कम्पाउन्डहरूको रासायनिक संरचना र तिनीहरूले विभिन्न ब्याक्टेरियाको वृद्धि रोक्ने क्षमताबारे डेटा उपलब्ध गराए। त्यसपछि एआईले अणु संरचनाले ब्याक्टेरियामा कस्तो असर गर्छ भन्ने सिक्यो।
नयाँ एन्टिबायोटिक डिजाइन गर्न दुई विधि अपनाइयो। पहिलोमा, लाखौं रासायनिक टुक्रा (८ देखि १९ अणु आकारका) खोजेर सुरुवाती आधार तय गरियो। दोस्रोमा, एआईलाई सुरुदेखि नै स्वतन्त्रता दिइयो।
डिजाइन प्रक्रियामा अहिले प्रयोगमा रहेका एन्टिबायोटिकसँग धेरै मिल्ने संरचनालाई हटाइयो। त्यस्तै, मानिसका लागि हानी गर्ने वा औषधि नभई साबुनजस्ता देखिने कम्पाउन्डहरूलाई पनि निकालियो।
यी डिजाइनहरूमध्ये उत्कृष्ट ठहरिएका कम्पाउन्डहरूलाई प्रयोगशालामा र संक्रमित मुसामा परीक्षण गर्दा दुई नयाँ सम्भावित एन्टिबायोटिक सफलतापूर्वक विकास भए।
वैज्ञानिकहरूको भनाइ
एमआईटीका प्रोफेसर जेम्स कोलिन्सले बीबीसीसँग भने, 'हामी उत्साहित छौं किनभने हामीले जेनेरेटिभ एआई प्रयोग गरेर पूर्ण नयाँ एन्टिबायोटिक डिजाइन गर्न सकिने देखाएका छौं। एआईले हामीलाई सस्तो र छिटो नयाँ अणु बनाउन सहयोग पुर्याउँछ र यसरी सुपरबग्ससँगको लडाइँमा ठूलो फाइदा दिलाउँछ।'
तर यी औषधिहरू अझै मानव परीक्षणका लागि तयार छैनन्। अझै १–२ वर्ष परिष्करणमा लाग्नेछ र त्यसपछि मात्र मानवमा परीक्षण सुरु हुनेछ।
लन्डनको इम्पेरियल कलेजका डा. एन्ड्र्यु एडवर्ड्सले भने, 'यो काम निकै महत्वपूर्ण छ र यसमा ठूलो सम्भावना छ किनभने यसले नयाँ एन्टिबायोटिक पहिचान गर्ने बिल्कुलै नयाँ तरिका देखाएको छ। तर एआईले औषधि खोजमा ठूलो सुधार गर्न सक्छ, तर सुरक्षा र प्रभावकारिताको परीक्षणमा अझै धेरै काम गर्नुपर्नेछ।'
चुनौती र आर्थिक पक्ष
एआईले डिजाइन गरेका सबै औषधि बनाउन सहज छैनन्। उदाहरणका लागि, गोनोरियाका लागि डिजाइन गरिएका ८० मध्ये केवल दुईलाई मात्र औषधिका रूपमा तयार गर्न सकियो।
यूनिभर्सिटी अफ वार्विकका प्रोफेसर क्रिस डाउसनले यसलाई “दमदार” भनेका छन्। उनले भने, 'एआई एन्टिबायोटिक खोजको महत्वपूर्ण औजार बन्न सक्छ, जसले प्रतिरोधी संक्रमण विरुद्धको खतरालाई कम गर्न मद्दत पुर्याउँछ।'
तर उनले आर्थिक समस्यातर्फ पनि औंला उठाए, 'यदि नयाँ एन्टिबायोटिक बने पनि त्यसको प्रयोग सकेसम्म कम गर्नुपर्ने हुन्छ, ताकि यसको प्रभाव लामो समय रहोस्। कम प्रयोग हुँदा बिक्री कम हुन्छ र यसबाट नाफा कमाउन कठिन हुन्छ।'