भारत- छोरीलाई एमबीबीएस प्रवेश परीक्षाको तयारी गराउँदा आमाले पनि प्रवेश परीक्षा पास गरेकी छिन्।
दक्षिण भारतको तमिलनाडु राज्यमा पर्ने एक सहरकी अमुथावल्ली मनिवन्ननकी आमाछोरी नै एमबीबीएस पढ्न पाउने भएका छन्। गरिब परिवार उनका आमाछोरीले सरकारी कोटामा नाम निकाले हुन्।
दलित समुदायकी अमुथावल्ली र उनकी छोरी संयुक्ता दुवै एकसाथ डाक्टर बन्दैछन्। हाल फिजिओथेरपिस्टका रुपमा काम गरिरहेको आमा अमुथावल्लीले छोरी संयुक्तालाई प्रवेश परीक्षाका निम्ति तयारी गर्न सघाउन थालिन्। त्यही क्रममा आफ्नो डाक्टर बन्ने अधुरो चाहना समेत पूरा गर्न संघर्ष गर्ने योजना बन्यो। उनले छोरीसँगै पढ्ने मौका पाएकी छिन्।
‘मैले विगत एक वर्षदेखि कठिन मेहनत गरेँ। सरकारी मेडिकल कलेजमा पढ्ने अवसर पाएकोमा म छक्क परेकी छु,’ ४९ वर्षीया अमुथावल्लीले भारतीय सञ्चार माध्यमसँग भनेकी छिन्। डाक्टर बन्न एमबीबीएस तहको पढाइका लागि भारतमा १ लाख २०,००० सीट छ । देशभरि २४ लाख विद्यार्थीले प्रतिस्पर्धा गर्ने गरेका छन्। त्यसमध्ये ५० प्रतिशत सरकारी छन्। सरकारीमा आमाछोरीले नाम निकाले हुन्।
उनले ३० वर्षअघि नै विद्यालय तहको पढाइ सकेकी हुन्। त्यसैले उनलाई भौतिकशास्त्र निकै कठिन लाग्यो। जीवशास्त्रमा उनले धेरै राम्रो गरिन्। त्यसैको परिणाम आफूले नाम निकालेको उनी बताउँछन्।
‘प्रवेश परीक्षामा विद्यार्थीहरूले 'मल्टिपल चोइस' प्रश्नावलीको सामना गर्नुपर्छ। धेरै विकल्पमध्ये सही विकल्प रोज्नुपर्छ। गलत जबाफ दिएमा अङ्क काटिन्छ। हरेक प्रश्नको चारवटा उस्तै लाग्ने जबाफ राखिएका हुन्छन्। तीमध्ये सही विकल्प रोज्ने तरिका मेरी छोरीले मलाई सिकाइन्,’ उनले भनेकी छिन्।