काठमाडौं- समानुपातिक प्रतिनिधित्वमार्फत सांसद बन्ने अवसर पाउँदा पनि दुई चिकित्सकले स्वेच्छाले आफ्नो नाम फिर्ता लिँदै राजनीतिक नैतिकता र जिम्मेवारीको उदाहरण प्रस्तुत गरेका छन्। उज्यालो नेपाल पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) बाट सिफारिस भएका डा. रामजी राम र डा. त्रिशला गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत समानुपातिक बन्द सूचीबाट बाहिरिने निर्णय सार्वजनिक गरेका हुन्।
डा. रामजी रामले दलित समुदायबाट समानुपातिक सूचीमा नाम समावेश हुनुलाई व्यक्तिगत सम्मान मात्र नभई पुस्तौँदेखि आवाजविहीन बनाइएका हजारौँ सपनाको प्रतिनिधित्वका रूपमा व्याख्या गरेका छन्। तर संसदमा पुग्न अझै बढी पीडित र कम सुनिएका आवाजहरू आवश्यक रहेको निष्कर्षसहित उनले एक कदम पछाडि हट्ने निर्णय लिएको बताएका छन्।
'यदि मेरो एक कदम पछाडि हटाइले उनीहरूका लागि एक ढोका खुल्छ भने, त्यो नै मेरो सबैभन्दा अर्थपूर्ण योगदान हुनेछ,' उनले वक्तव्यमा उल्लेख गरेका छन्। संसदको कुर्सीमै बसेर मात्र परिवर्तन सम्भव हुन्छ भन्ने मान्यता आफूले नराखेको स्पष्ट पार्दै उनले दलित अधिकार, सामाजिक न्याय, लोकतान्त्रिक मूल्य र सुशासनका पक्षमा फरक भूमिकाबाट निरन्तर आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरेका छन्।
त्यस्तै, डा. त्रिशला गुरुङले पार्टीबाट समानुपातिक प्रतिनिधित्वका लागि उम्मेदवारका रूपमा सिफारिस हुनु सम्मान र जिम्मेवारी दुवै भएको उल्लेख गर्दै गहन आत्ममूल्यांकनपछि उम्मेदवारीबाट पछि हट्ने निर्णय लिएको बताएकी छन्। उनले आफ्नो पेशागत जिम्मेवारी (विशेषतः स्वास्थ्य र कला क्षेत्रमा निरन्तर सेवा) तथा नागरिक समाज र समुदायप्रति स्वतन्त्र हैसियतबाट योगदान पुर्याउने संकल्पलाई निर्णयको मुख्य आधारका रूपमा प्रस्तुत गरेकी छन्।
राजनीतिक पदमा नरहे पनि समाज र स्वास्थ्य क्षेत्रको आवाजका रूपमा निरन्तर योगदान पुर्याइरहने उनको भनाइ छ।
दुवै चिकित्सकको निर्णयलाई सामाजिक सञ्जालमा नैतिक त्याग र उत्तरदायित्वको उदाहरणका रूपमा हेरिएको छ। सत्ता र पदप्रति आकर्षण बढिरहेको वर्तमान राजनीतिक परिवेशमा उनीहरूको कदमले प्रतिनिधित्वको मर्म, समावेशिता र सार्वजनिक सेवाप्रतिको निष्ठालाई उजागर गरेको प्रतिक्रिया सामाजिक सञ्जालमा आइरहेको छ।
रास्वपा समानुपातिक सूचीमा ७ जना मेडिकल डाक्टर