काठमाडौँ- भदौ २३ र २४ गते बानेश्वर क्षेत्रमा भएको आन्दोलनमा देखिएकी सांसद डा तोसिमा कार्कीले प्रहरीले संयमता अपनाएको नदेखिएको बताएकी छन्।
गौरी बहादुर कार्की नेतृत्वको आयोगलाई दिएको बयानअनुसार आन्दोलन चर्किएको सूचना पाएपछि उनी जोखिम मोलेर घटनास्थलतर्फ अघि बढेकी थिइन्। बाटो अवरुद्ध भएपछि केही दूरी बाइकमा र त्यसपछि पैदल हिँडेर सिभिल अस्पताल पुगेकी उनले अस्पताल वरपर नै प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहेको देखेकी थिइन्। 'प्रहरी फायरिङ गरिरहेका थिए भने प्रदर्शनकारी ढुङ्गा प्रहार गरिरहेका थिए, कसैले कसैको कुरा सुन्ने अवस्था थिएन,' उनले बयानमा उल्लेख गरेकी छन्।
अस्पताल पुग्दा घाइतेहरू निरन्तर आइरहेका थिए। उनले अस्पतालबाहिर बसेर उपचारमा सहजीकरण गर्नुका साथै घाइतेलाई आन्दोलनमा फर्किन नजान आग्रह गरे पनि धेरैले नमानेको बताइन्। “कतिपय सामान्य उपचारपछि फेरि आन्दोलनमै फर्किन्थे,” उनले भनिन्।
डा. कार्कीले सुरक्षाकर्मीलाई संयमता अपनाउन पटक–पटक आग्रह गरे पनि त्यसको प्रभाव नदेखिएको बताएकी छन्। भोलिपल्ट पनि अवस्था तनावग्रस्त नै रहेको भन्दै उनले संसद भवन परिसरभित्र घाइते एक व्यक्तिलाई उद्धार गरी अस्पताल पठाउन सहयोग गरेको उल्लेख गरेकी छन्। उनले दुई दिनसम्म अस्पतालमै बसेर उपचार तथा व्यवस्थापनमा सहयोग गरेको बताउँदै घाइतेहरूलाई अन्य अस्पतालमा रिफर गर्न समेत सहजीकरण गरेको जानकारी दिइन्।
“यो घटना एकदमै दुखदायी भयो,” उनले भनिन्, “मैले प्रहरीले संयमता अपनाएको देखिनँ।”
डा. तोसिमा कार्कीको कागज ब्यहोराः
भदौ २३ गते म संसदीय समितिको बैठकमा सहभागी थिए । करिव १०:३० बजे बिहानतिर बानेश्वर क्षेत्रमा आन्दोलन चर्किएको थाहा पाएपछि म गाडी चढेर बानेश्वरतर्फ निस्किंदा बबरमहलको पुल पुग्न भन्दा अगाडि नै गाडी रोकियो र मलाई अगाडि नजान भनियो तर मैले म जसरी पनि जानुपर्छ भनी त्यहाँबाट एक जना मानिसको बाइकमा लिफ्ट लिएर अगाडि बढे । केही अगाडि बढेपछि बाइकपनि जान सक्ने अवस्था भएन र त्यहाँबाट मिनभवनको पछाडिको बाटो हिडेर सिभिल हस्पिटल पुगे।म सिभिल हस्पिटल जाँदा त्यता भित्रतर्फको गल्ली बाटोमा नै प्रहरीहरु फाइरिङ गरिरहेका थिए भने प्रदर्शनकारीहरु ढुङ्गा प्रहार गरिरहेका थिए । दुबै पक्षको भीडन्त भैरहेको थियो । मैले प्रदर्शनकारी भाईबहिनीहरुलाई सम्झाए र सुरक्षाकर्मीलाई पनि सम्झाए । तर, त्यहाँ कसैले पनि सुन्ने मान्ने अवस्था थिएन। म आन्दोलनको बीच बाटो हुदै सिभिल हस्पिटल पुगे । त्यहा घाइतेहरु आउन शुरु भई सकेको थियो । त्यतिबेला सायद १२ बजिसकेको थियो जस्तो लाग्छ । म हस्पिटलको बाहिर बसेर घाइतेहरुको उपचारमा सहजीकरण गरिरहेको थिय । लगातार घाइतेहरु हस्पिटलमा आई रहेका थिए । कतिपय प्रदर्शनकारीहरु सामान्य उपचार गराउदै फेरी आन्दोलनमा गईहाल्थे, मैले नजाउ भनेर सम्झाउदा पनि उनीहरुले हामीलाई नरोक्नुहोस हामी जानुपर्छ भन्थे । म धेरै पटक अस्पतालबाट बाहिर निस्केर सुरक्षाकर्मीहरुलाई पनि यस्तो नगर्नुहोस भनेर सम्झाउने कोशिस गरे, उनीहरुले पनि मैले भनेको सुनेनन् । प्रहरीले हानेको गोली अश्रुग्याँस अस्पतालभित्रसम्मै आई पुगेको थियो। अस्पतालको अवस्था निकै दर्दनाक थियो । म त्यो रात घाइतेहरुको उपचारमा संलग्न भई अस्पतालमानै बसे। अस्पतालमा सबै स्वास्थ्यकर्मीहरु उपचारमा खटिनै रहनु भएको थियो ।
२४ गते बिहानैदेखि बानेश्वरक्षेत्र तनावग्रस्त थियो । करिव १० बजेतिर घाइतेहरु अस्पताल ल्याउन शुरु भैसकेको थियो । म सब हेरेर बसिरहन सकिन र बाहिर निस्केर संसदभवन भित्र पसेको थिए । मलाई भित्र नजान सबैले भनिनै रहेका थिए । मैले संसद भवन परिसर भित्र एउटा मानिस लडिरहेको देखेको थिए। उसको नाडी छाम्दा चाल नपाएपछि मैले अस्पताल लैजान लगाए । मैले प्रदर्शनकारीहरुलाई तोडफोड नगर्न भनेर आग्रह गरिरहेको थिए । म त्यहाँबाट निस्किएर फेरि सिभिल अस्पतालमानै गए। घाइतेहरुको सामान्य उपचारमा म पनि संलग्न भए । रातिसम्म पनि अस्पतालमा घाइतेहरु आई नै रहेका थिए । त्यहाँ उपचार हुन नसकेकाहरुको अन्य अस्पतालमा पठाउनको लागि पनि मैले सहजीकरण गरेको थिए । म त्यो रातपनि अस्पतालमानै बसे । भदौ २५ गते बिहान सिभिल अस्पतालबाट निस्किएको हो । यो घटना एकदमै दुखदायी भयो । मैले प्रहरीले संयमता अपनाएको देखिनँ।