बाजुरा- नेपालको दुर्गम भूगोल, कमजोर स्वास्थ्य पहुँच र सीमित पूर्वाधारबीच डिजिटल स्वास्थ्य सेवा विस्तारको बहस बाजुराबाट सुरु हुने भएको छ। स्थानीय स्तरका अनुभव, संघर्ष र समाधानलाई केन्द्रमा राख्दै 'द लास्ट माइल डिजिटल हेल्थ शिखर सम्मेलन २०२६' आयोजना हुने भएको छ।
बाजुराबाट सुरु भएर धनगढी हुँदै काठमाडौंसम्म पुग्ने तीन तहको यो सम्मेलनले डिजिटल स्वास्थ्य सेवाको ‘अन्तिम तह’को यथार्थलाई राष्ट्रिय नीति र लगानीसँग जोड्ने लक्ष्य लिएको आयोजकमध्येका एक द स्मार्ट हेल्थ ग्लोबलका संस्थापक मनोज खड्काले बताएका छन्।
सम्मेलन अन्तर्गत पहिलो चरण असार १३ र १४ गते बाजुरामा आयोजना हुनेछ। 'जिल्ला तह– बाजुरा : अन्तिम तह बोल्छ' भन्ने मूल नारासहित हुने कार्यक्रममा दुर्गम समुदायका अनुभव, स्थानीय स्वास्थ्यकर्मीका भोगाइ तथा डिजिटल स्वास्थ्य सेवाका अवसर र चुनौतीमाथि छलफल हुनेछ। दोस्रो चरण असार २० गते धनगढीमा हुनेछ भने अन्तिम राष्ट्रिय सम्मेलन साउन ३ गते काठमाडौंमा आयोजना गरिनेछ।
कार्यक्रमको आयोजना बाजुराका बडिमालिका, बुढीगंगा, बुढीनन्दा र त्रिवेणी नगरपालिकासहित सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य खबर फाउन्डेसन र स्मार्ट हेल्थ ग्लोबलले संयुक्त रूपमा गरेका छन्।
पत्रकार सम्मेलनमा बोल्दै बडिमालिका नगरपालिकाका मेयर अमर खड्काले डिजिटल हेल्थ दुर्गमका नागरिकलाई स्वास्थ्यको पहुँचमा जोड्ने महत्वपूर्ण कडी हुनुपर्ने बताए। उनले भने, 'डिजिटल हेल्थ अन्तर्गत टेलिमेडिसिनबाट हामी दूरदराजका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा दिने प्रयास गरिरहेका छौं। तर दुर्गम क्षेत्रमा सेवा दिँदा स्वास्थ्यकर्मी र सेवाग्राही दुवैले धेरै कठिनाइ भोगिरहेका छन्। हाम्रो प्रयास र सरकारको नीति तथा प्राथमिकताबीच रहेका अवरोधबारे यो सम्मेलनमा खुला छलफल हुनेछ।'
उनका अनुसार स्थानीय तहको अनुभवलाई प्रदेश र केन्द्र सरकारसम्म पुर्याएर साझा बुझाइ निर्माण गर्नु सम्मेलनको प्रमुख उद्देश्य हो।
त्यस्तै बुढीनन्दा नगरपालिकाका मेयर जनक बोहराले स्वास्थ्यलाई मौलिक हक भनिए पनि पर्याप्त बजेट र जनशक्ति अभावले ग्रामीण क्षेत्रका नागरिक अझै आधारभूत सेवाबाट वञ्चित हुनुपरेको बताए।
'विश्व डिजिटल दुनियाँमा प्रवेश गरिसकेको छ, तर हामी अझै मोबाइल टावर खोज्दै हिँड्न बाध्य छौं,' उनले भने, 'यस्तो अवस्थामासमेत हामीले केही प्रयास गरेका छौं। ती संघर्ष र अनुभवलाई राष्ट्रिय तहमा सुनाउने अवसरका रूपमा यो सम्मेलनलाई लिएका छौं।'
बुढीगंगा नगरपालिकाका मेयर रामबहादुर बानियाँले सरकारले प्रभावकारी बनाउन नसकेको टेलिहेल्थ कार्यक्रम बाजुराले व्यवहारमा सफल बनाएको दाबी गरे। 'हामीले निकै प्रयास गरेर डिजिटल माध्यमबाट स्वास्थ्य सेवा पुर्याएका छौं। यसले दुर्गमका नागरिकलाई राहत दिएको छ,' उनले भने, 'स्वास्थ्य सेवासँगै यसले बाजुराको सम्भावना, चुनौती र विकासको अवस्थालाई समेत राष्ट्रिय रूपमा उजागर गर्ने अपेक्षा गरेका छौं।'
त्यसैगरी आयोजकमध्येकै एक स्वास्थ्य खबर फाउन्डेसनका संस्थापक सदस्य डिबी खड्काले यसअघि २०८१ सालमा आयोजित डिजिटल हेल्थ सिम्पोजियमबाट प्राप्त निष्कर्षकै आधारमा यसपटक कार्यक्रमलाई स्थानीय तहसम्म पुर्याइएको बताए। उनका अनुसार अघिल्लो बहसमा नीति निर्माता र सेवा प्रदायक केन्द्रमा थिए भने यसपटक सेवा प्राप्तकर्ताको अनुभवलाई प्राथमिकतामा राखिएको छ।
'डिजिटल स्वास्थ्य कार्यक्रम दीगो बनाउन स्थानीय क्षमता विकास अनिवार्य छ भन्ने निष्कर्ष त्यतिबेलै आएको थियो,' उनले भने, 'त्यसैले अहिले हामी सेवाग्राहीकै ठाउँमा पुगेर उनीहरूको बुझाइ, आवश्यकता र दृष्टिकोणलाई नीति निर्मातासम्म पुर्याउने प्रयास गर्दैछौं।'
स्मार्ट हेल्थ ग्लोबलका संस्थापक मनोज खड्काले नेपाल अझै डिजिटल स्वास्थ्य पहुँचको आधारभूत चरणमै संघर्ष गरिरहेको बताए।
'विश्व एआईमार्फत उपचारदेखि रोबोटिक सर्जरीसम्म पुगिसकेको छ। अमेरिकामा बसेर भारतको दिल्लीमा रहेका बिरामीको शल्यक्रिया हुन थालेको छ,' उनले भने, 'तर हामी सामान्य उपचारका लागि पनि संघर्ष गरिरहेका छौं। कतिपय बिरामीले डाक्टरको अनुहारसमेत देख्न पाएका छैनन्।'
उनले नेपालमा डिजिटल स्वास्थ्य बहस अझै ‘डिजिटल पहुँच’ र ‘डिजिटल साक्षरता’मै सीमित रहेको बताए। 'मोबाइल नेटवर्क र एउटा एसएमएस हाम्रो लागि अझै ठूलो कुरा हो,' उनले भने, 'डिजिटल प्रविधि हुनु मात्रै पर्याप्त हुँदैन। सेवा दिने र सेवा लिने दुवै पक्षमा त्यसबारे ज्ञान र सही बुझाइ हुनुपर्छ। त्यसैले हामी सबै दृष्टिकोणलाई समेटेर बहस गर्न खोजिरहेका छौं।'
आयोजकका अनुसार सम्मेलनमा स्थानीय सरकार, स्वास्थ्यकर्मी, नीति निर्माता, विकास साझेदार, प्रविधि विज्ञ तथा समुदायका प्रतिनिधिबीच डिजिटल स्वास्थ्यको दिगोपन, लगानी, पूर्वाधार, डिजिटल समता र सार्वभौमिक स्वास्थ्य आवरणबारे बहस हुनेछ।
सम्मेलनले दुर्गम क्षेत्रका वास्तविक कथा र स्थानीय अभ्यासलाई राष्ट्रिय नीति निर्माणसँग जोड्ने प्रयास गर्ने आयोजकहरूको विश्वास छ। 'वास्तविक कथा, वास्तविक समाधान' भन्ने नारासहित आयोजना हुन लागेको यो कार्यक्रमले स्थानीय स्वामित्वमा आधारित डिजिटल स्वास्थ्य मोडेललाई राष्ट्रिय विस्तारको आधार बनाउन सक्ने अपेक्षा गरिएको छ।