एक्काइसौँ शताब्दीमा स्वास्थ्य सेवा विज्ञान, प्रविधि र डिजिटल नवप्रवर्तनका कारण तीव्र रूपमा रूपान्तरण भइरहेको छ। कृत्रिम बुद्धिमत्ता, टेलिमेडिसिन, जैवप्रविधि र आनुवंशिक इन्जिनियरिङजस्ता प्रविधिले उपचार प्रणालीलाई अझ प्रभावकारी र सुलभ बनाइरहेका छन्। तर स्वास्थ्य सेवाको अन्तिम उद्देश्य केवल रोगको उपचार गर्नु मात्र होइन, सबै नागरिकका लागि न्यायोचित, गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा सुनिश्चित गर्नु हो। यो लक्ष्य हासिल गर्न चिकित्सकीय ज्ञान मात्र पर्याप्त हुँदैन। रोगको वितरण, स्वास्थ्य सेवाको पहुँच र जनस्वास्थ्यका चुनौतीहरू बुझ्न भूगोलको भूमिका उत्तिकै महत्त्वपूर्ण हुन्छ।
नेपालजस्तो भौगोलिक, जलवायुगत र सामाजिक विविधताले भरिएको मुलुकमा स्वास्थ्यका चुनौती पनि स्थानअनुसार फरक–फरक छन्। हिमाल, पहाड र तराईबीचको भौगोलिक भिन्नताले मात्र होइन, जलवायु, बस्तीको बनोट, पूर्वाधार, आर्थिक अवस्था र जनसंख्याको वितरणले पनि स्वास्थ्य जोखिम निर्धारण गर्छ। तर विडम्बना, हाम्रो स्वास्थ्य विज्ञान शिक्षाले अझै पनि रोग, उपचार र औषधिलाई केन्द्रमा राखेको छ; स्वास्थ्यका स्थानगत (Spatial) आयामलाई अपेक्षित महत्त्व दिएको छैन।
यही कारण स्वास्थ्य भूगोल (Health Geography) र जियोस्पेशियल टेक्नोलोजी (Geospatial Technology) लाई स्वास्थ्य विज्ञान शिक्षाको अभिन्न अङ्ग बनाउने समय आएको छ। यी विषय अब वैकल्पिक होइनन्, आधुनिक स्वास्थ्य प्रणाली निर्माणका लागि अपरिहार्य भइसकेका छन्। तर नीति निर्माण तहमा यसको महत्त्वबारे पर्याप्त बुझाइ अझै विकास हुन सकेको देखिँदैन।
स्वास्थ्य विज्ञानले परम्परागत रूपमा मानव शरीरको संरचना, रोगको कार्यविधि, औषधिको प्रभाव र उपचार पद्धतिमा केन्द्रित अध्ययन गर्दै आएको छ। तर कुनै रोग किन एउटा क्षेत्रमा बढी देखिन्छ, किन केही समुदाय बढी प्रभावित हुन्छन्, किन कतै स्वास्थ्य सेवा सहज छ भने कतै अत्यन्तै दुर्लभ छ भन्ने प्रश्नको उत्तर चिकित्साशास्त्रले मात्र दिन सक्दैन। यस्ता प्रश्नको समाधानका लागि स्थानगत विश्लेषण अपरिहार्य हुन्छ।
यही स्थानगत आयामको अध्ययन स्वास्थ्य भूगोलले गर्छ भने भौगोलिक सूचना प्रणाली (GIS), रिमोट सेन्सिङ र ग्लोबल पोजिसनिङ सिस्टम (GPS) जस्ता जियोस्पेशियल प्रविधिले त्यसलाई वैज्ञानिक रूपमा विश्लेषण गर्ने आधार प्रदान गर्छन्। विश्वका विकसित स्वास्थ्य प्रणालीहरूले यी प्रविधिलाई नीति निर्माण, रोग नियन्त्रण, स्वास्थ्य सेवा योजना, अनुसन्धान र विपद् व्यवस्थापनको मुख्य उपकरणका रूपमा प्रयोग गरिरहेका छन्। नेपालमा भने यसको प्रयोग अझै सीमित छ।
१. रोगको भौगोलिक वितरण र जोखिम पहिचान
नेपालको भौगोलिक विविधताले रोगको वितरणमा स्पष्ट प्रभाव पारेको छ। परम्परागत रूपमा तराईका केही जिल्लामा मात्र सीमित मानिएको कालाजार (भिसेरल लिस्मानियासिस) अहिले पहाडी तथा केही हिमाली जिल्लासम्म फैलिसकेको छ। सन् १९६० को दशकमा करिब एक दर्जन जिल्लामा सीमित रहेको यो रोग अहिले २३ जिल्लामा रिपोर्ट भइसकेको छ। कालिकोट, डोल्पा र ओखलढुङ्गाजस्ता दुई हजार पाँच सय मिटर उचाइसम्मका क्षेत्रमा समेत संक्रमण देखिनु यसको भौगोलिक विस्तारको स्पष्ट संकेत हो। सन् २०१८ मा रिपोर्ट भएका कुल संक्रमितमध्ये ५३ प्रतिशत गैर–स्थानिक मानिएका जिल्लाबाट भेटिनुले रोगको स्वरूप बदलिँदै गएको पुष्टि गर्छ।
यस परिवर्तनको प्रमुख कारण जलवायु परिवर्तन हो। पछिल्ला करिब २५ वर्षमा नेपालमा औसत तापक्रम उल्लेखनीय रूपमा बढेको छ। तापक्रम वृद्धिसँगै कालाजार सार्ने बालुवा झिँगा (Phlebotomus argentipes) पहिलेभन्दा उच्च भूभागमा फैलिन थालेको छ। विभिन्न अध्ययनले अहिले नेपालको करिब एकतिहाइ भूभाग कालाजार प्रसारणका लागि उपयुक्त रहेको देखाएका छन्। यदि जलवायु परिवर्तनको वर्तमान प्रवृत्ति यथावत् रह्यो भने यो जोखिम क्षेत्र अझ विस्तार हुने सम्भावना छ।
डेंगुको अवस्था पनि त्यत्तिकै चिन्ताजनक छ। केही वर्षअघिसम्म तराई र सीमित सहरी क्षेत्रमा केन्द्रित रहेको डेंगु अहिले काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा तीव्र रूपमा फैलिएको छ। अझ उच्च हिमाली क्षेत्रमा समेत स्थानीय संक्रमण देखिन थालेको छ। कर्णाली प्रदेशमा यात्रा इतिहास नभएका संक्रमित फेला पर्नुले डेंगुको भौगोलिक विस्तार अब नयाँ चरणमा पुगेको संकेत दिएको छ।
क्षयरोगका उच्च जोखिम क्षेत्र, हेपाटाइटिस–ई को वितरण तथा अन्य सङ्क्रामक रोगहरूको स्थानगत अवस्थाले पनि नेपालमा स्वास्थ्य जोखिम अत्यन्त असमान रहेको पुष्टि गर्छ। कुनै रोगको जोखिम सम्पूर्ण देशमा समान हुँदैन; त्यो भूगोल, वातावरण, जनघनत्व, आर्थिक अवस्था र जलवायुसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ।
यस्ता चुनौतीहरूको प्रभावकारी सामना गर्न रोगको उपचार मात्र पर्याप्त हुँदैन। रोग कहाँ केन्द्रित छ, किन फैलिरहेको छ र भविष्यमा कहाँ फैलिन सक्छ भन्ने प्रश्नको उत्तर खोज्न जियोस्पेशियल विश्लेषण आवश्यक हुन्छ।
जीआईएसको प्रयोगबाट रोगका 'हटस्पट' अर्थात् उच्च जोखिम क्षेत्र र 'कोल्डस्पट' अर्थात् न्यून जोखिम क्षेत्र पहिचान गर्न सकिन्छ। उदाहरणका लागि, वर्षायामअघि काठमाडौं उपत्यकाका कुन वडामा डेंगुको जोखिम बढी हुन्छ भन्ने पूर्वानुमान गरी त्यही क्षेत्रमा लामखुट्टे नियन्त्रण, लार्भिसाइड छर्कने, जनचेतना कार्यक्रम सञ्चालन गर्ने तथा स्वास्थ्यकर्मी परिचालन गर्न सकिन्छ। यसले जनस्वास्थ्यलाई प्रतिक्रियात्मक (Reactive) होइन, पूर्वानुमानमा आधारित (Predictive) प्रणालीतर्फ रूपान्तरण गर्छ।
स्वास्थ्य विज्ञानका विद्यार्थीले रोगको जैविक पक्षसँगै त्यसको भौगोलिक आयाम पनि बुझ्न आवश्यक छ। भविष्यका स्वास्थ्यकर्मीले नक्सा पढ्न, स्थानगत तथ्याङ्क विश्लेषण गर्न र जोखिमको वैज्ञानिक मूल्याङ्कन गर्न सके मात्र बदलिँदो स्वास्थ्य चुनौतीको प्रभावकारी सामना गर्न सक्नेछन्।
२. स्वास्थ्य सेवाको पहुँच र स्थानगत असमानता
नेपालको संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको अधिकार सुनिश्चित गरेको छ। तर व्यवहारमा स्वास्थ्य सेवाको पहुँच सबैका लागि समान छैन। भौगोलिक विकटता, कमजोर पूर्वाधार, यातायातको अभाव, छरिएर रहेका बस्ती र सीमित स्वास्थ्य संस्थाका कारण हिमाली तथा पहाडी क्षेत्रका लाखौँ नागरिक अझै पनि आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित छन्। अर्कोतर्फ, सहरी क्षेत्रमा केही मिनेटको दूरीमै विशेषज्ञ सेवा उपलब्ध हुन्छ। यो असमानतालाई केवल तथ्याङ्कले होइन, नक्साले अझ स्पष्ट रूपमा देखाउँछ।
यही कारण जियोस्पेशियल टेक्नोलोजी आधुनिक स्वास्थ्य योजनाको आधार बन्दै गएको छ। भौगोलिक सूचना प्रणाली (GIS) मार्फत सडक सञ्जाल, पैदल मार्ग, उचाइ, नदी, यातायातको अवस्था र जनसंख्या वितरणलाई समेटेर कुनै स्वास्थ्य संस्थासम्म पुग्न लाग्ने वास्तविक समयको विश्लेषण गर्न सकिन्छ। यसलाई Accessibility Analysis वा पहुँच विश्लेषण भनिन्छ।
स्वास्थ्य विज्ञानका विद्यार्थीले नेटवर्क विश्लेषण (Network Analysis) जस्ता प्रविधि सिक्नुपर्छ, जसले कुनै स्वास्थ्य संस्थाबाट निश्चित समयभित्र सेवा लिन सक्ने जनसंख्याको वास्तविक चित्र प्रस्तुत गर्छ। यसबाट नयाँ अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र वा बर्थिङ सेन्टर कहाँ स्थापना गर्ने भन्ने निर्णय अनुमानका आधारमा होइन, प्रमाणका आधारमा गर्न सकिन्छ।
नेपालमा भएका केही अध्ययनले स्वास्थ्य सेवाको पहुँचमा गम्भीर असमानता रहेको देखाएका छन्। उदाहरणका लागि, तराई क्षेत्रमा गरिएको सर्पदंश उपचारसम्बन्धी अध्ययनले न्यूरोटक्सिक सर्पदंशको उपचारका लागि ६० मिनेटभित्र स्वास्थ्य संस्थामा पुग्न सक्ने जनसंख्याको अनुपात जिल्लाअनुसार अत्यन्त फरक रहेको देखाएको छ। केही जिल्लामा झन्डै सम्पूर्ण जनसंख्या समयमै उपचारमा पुग्न सक्ने अवस्थामा छ भने केही जिल्लामा पाँच प्रतिशतभन्दा कम नागरिकले मात्र यस्तो सुविधा प्राप्त गर्न सक्छन्।
अझ महत्त्वपूर्ण तथ्य के हो भने उपचार केन्द्रको उचित पुनर्संरचना र सेवा विस्तारबाट लाखौँ नागरिकको उपचार पहुँच उल्लेखनीय रूपमा सुधार गर्न सकिन्छ। यसको अर्थ समस्या केवल अस्पतालको संख्या होइन, तिनको स्थान चयन पनि हो।
यस्तै, बागमती प्रदेशमा गरिएको क्यान्सर अस्पताल पहुँच अध्ययनले पनि गम्भीर असमानता उजागर गरेको छ। सवारी साधन प्रयोग गर्ने अधिकांश नागरिकले एक घण्टाभित्र विशेषज्ञ सेवा प्राप्त गर्न सक्ने भए पनि पैदल यात्रा गर्नुपर्ने समुदायका लागि अवस्था निकै कठिन छ। उत्तरी पहाडी क्षेत्रका कतिपय बासिन्दाले धेरै घण्टाको यात्रा गरेपछि मात्र विशेषज्ञ उपचार पाउने अवस्था छ। यस्तो असमानताले समयमै उपचार नपाउँदा मृत्यु र अपाङ्गताको जोखिम बढाउँछ।
यी उदाहरणहरूले स्पष्ट रूपमा देखाउँछन् कि स्वास्थ्य सेवा विस्तारका निर्णय जनसंख्या वा प्रशासनिक सीमाका आधारमा मात्र होइन, वास्तविक पहुँचको विश्लेषणका आधारमा हुनुपर्छ। जियोस्पेशियल टेक्नोलोजीले यस्ता निर्णयलाई वैज्ञानिक बनाउने आधार प्रदान गर्छ।
३. महामारी नियन्त्रण र द्रुत प्रतिकार्य
कोभिड–१९ महामारीले विश्व स्वास्थ्य प्रणालीलाई एउटा महत्त्वपूर्ण पाठ सिकायो- विश्वसनीय, अद्यावधिक र स्थानगत तथ्याङ्क बिना प्रभावकारी महामारी नियन्त्रण सम्भव हुँदैन।
नेपालमा पनि महामारीका क्रममा संक्रमितको संख्या, मृत्युदर, अस्पतालको क्षमता, अक्सिजन, भेन्टिलेटर तथा आइसोलेसन केन्द्रको अवस्थाबारे नियमित तथ्याङ्क सङ्कलन गरिएको थियो। तर ती तथ्याङ्कलाई एकीकृत स्थानगत विश्लेषणमा रूपान्तरण गर्न सकिएको भए स्रोत व्यवस्थापन, जनशक्ति परिचालन र नियन्त्रण रणनीति अझ प्रभावकारी हुन सक्थ्यो।
जियोस्पेशियल टेक्नोलोजीले संक्रमितको यात्रा इतिहास, सम्पर्क पहिचान, संक्रमणको घनत्व तथा समुदायस्तरको जोखिमलाई वास्तविक समयमा नक्साङ्कन गर्न सक्षम बनाउँछ। Spatial Clustering जस्ता विश्लेषणात्मक प्रविधिबाट कुन क्षेत्रमा संक्रमण तीव्र गतिमा फैलिरहेको छ, कहाँ परीक्षण बढाउनुपर्छ, कहाँ स्वास्थ्य सामग्री अभाव छ र कहाँ तत्काल हस्तक्षेप आवश्यक छ भन्ने कुरा तुरुन्तै थाहा हुन्छ।
विश्वका धेरै देशले कोभिड–१९ का क्रममा जीआईएस आधारित ड्यासबोर्ड प्रयोग गरेर महामारीको निगरानी, अस्पताल व्यवस्थापन तथा स्रोत परिचालनलाई प्रभावकारी बनाएका थिए। नेपालले पनि भविष्यका महामारीका लागि यस्ता प्रणालीलाई स्वास्थ्य सेवाको नियमित संरचनामा समावेश गर्न आवश्यक छ।
अब स्वास्थ्य विज्ञान शिक्षाले केवल रोग पहिचान र उपचार मात्र होइन, डिजिटल निगरानी, वास्तविक समयको तथ्याङ्क विश्लेषण र स्थानगत महामारी व्यवस्थापन पनि सिकाउनुपर्छ। भविष्यका महामारीहरू अझ जटिल हुन सक्ने भएकाले स्वास्थ्यकर्मीहरूलाई यस्ता आधुनिक उपकरण प्रयोग गर्न सक्षम बनाउनु समयको माग हो।
४. जलवायु परिवर्तन र उदीयमान रोगको पूर्वानुमान
जलवायु परिवर्तन आजको विश्व स्वास्थ्यका सबैभन्दा ठूला चुनौतीमध्ये एक हो। नेपाल यसको प्रत्यक्ष प्रभाव झेलिरहेको मुलुक हो। तापक्रम वृद्धि, वर्षाको बदलिँदो ढाँचा, हिमनदीको पग्लिने क्रम, बाढी, पहिरो तथा वातावरणीय परिवर्तनले धेरै सङ्क्रामक रोगको भौगोलिक वितरण बदलिरहेको छ।
मलेरिया, डेंगु र कालाजारजस्ता भेक्टरजन्य रोगका वाहकहरू अहिले पहिलेभन्दा उच्च उचाइमा फैलिन थालेका छन्। यसको मुख्य कारण तापक्रम र आर्द्रतामा आएको परिवर्तन हो। यसले पहिले सुरक्षित मानिएका क्षेत्रमा पनि नयाँ स्वास्थ्य जोखिम सिर्जना गरिरहेको छ।
रिमोट सेन्सिङमार्फत तापक्रम, वर्षा, वनस्पतिको अवस्था, जमिनको उपयोग तथा वातावरणीय परिवर्तनसम्बन्धी तथ्याङ्क नियमित रूपमा प्राप्त गर्न सकिन्छ। यी तथ्याङ्कलाई स्वास्थ्य तथ्याङ्कसँग संयोजन गरेर भविष्यमा कुन क्षेत्रमा कुन रोग फैलिन सक्ने सम्भावना छ भन्ने पूर्वानुमान गर्न सकिन्छ।
यसलाई स्वास्थ्य क्षेत्रमा प्रारम्भिक चेतावनी प्रणाली (Early Warning System) को रूपमा विकास गर्न सकिन्छ। यदि कुनै क्षेत्रमा डेंगुको जोखिम बढ्ने संकेत समयमै प्राप्त भयो भने त्यहाँ लामखुट्टे नियन्त्रण, जनचेतना, औषधि व्यवस्थापन र स्वास्थ्यकर्मी परिचालन पहिल्यै गर्न सकिन्छ। यसले महामारी फैलिनुअघि नै नियन्त्रण गर्ने अवसर प्रदान गर्छ।
दुर्भाग्यवश, नेपालको स्वास्थ्य विज्ञान शिक्षामा जलवायु परिवर्तन, स्वास्थ्य भूगोल र जियोस्पेशियल विश्लेषणबीचको सम्बन्ध अझै पर्याप्त रूपमा समावेश भएको छैन। भविष्यका स्वास्थ्य चुनौतीहरूलाई प्रभावकारी रूपमा सामना गर्न यी विषयलाई पाठ्यक्रमको अनिवार्य अङ्ग बनाउनु आवश्यक छ।
५. स्रोत परिचालन र लागत–प्रभावकारिता
नेपालजस्तो सीमित स्रोत र बढ्दो स्वास्थ्य चुनौती भएको मुलुकमा स्वास्थ्य बजेटको प्रभावकारी उपयोग अत्यन्त महत्त्वपूर्ण विषय हो। स्वास्थ्य क्षेत्रमा उपलब्ध स्रोत सधैँ सीमित हुन्छन्, तर आवश्यकता निरन्तर बढ्दो छ। यस्तो अवस्थामा सबै जिल्लामा समान रूपमा बजेट वितरण गर्नु सधैँ न्यायोचित वा प्रभावकारी हुँदैन। स्रोत परिचालन रोगको वास्तविक बोझ, स्वास्थ्य सेवाको पहुँच, जनसंख्याको वितरण र जोखिमका आधारमा हुनुपर्छ।
यहीँ जियोस्पेशियल टेक्नोलोजीको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ। जीआईएस मार्फत् रोगको वितरण, सेवा पहुँच, जनसंख्या घनत्व, सामाजिक–आर्थिक अवस्था र स्वास्थ्य पूर्वाधारलाई एउटै नक्सामा विश्लेषण गर्न सकिन्छ। यसबाट कुन क्षेत्रमा औषधि, जनशक्ति, उपकरण वा स्वास्थ्य पूर्वाधारको बढी आवश्यकता छ भन्ने स्पष्ट हुन्छ।
यसरी तयार गरिएका स्थानगत विश्लेषणका आधारमा सरकारले स्वास्थ्य बजेटलाई बढी आवश्यक क्षेत्रतर्फ केन्द्रित गर्न सक्छ। परिणामस्वरूप सीमित लगानीबाट बढी नागरिक लाभान्वित हुन्छन्, सेवा दोहोरिने सम्भावना घट्छ र स्रोतको दुरुपयोग कम हुन्छ। आधुनिक स्वास्थ्य प्रणालीमा यसलाई Spatial Budgeting अर्थात् स्थानगत बजेट योजना भनिन्छ, जसले प्रमाणमा आधारित निर्णय प्रक्रियालाई बलियो बनाउँछ।
६. विपद् व्यवस्थापन र स्वास्थ्य आपत्कालीन तयारी
नेपाल विश्वकै उच्च विपद् जोखिम भएका मुलुकमध्ये एक हो। भूकम्प, बाढी, पहिरो, हिमताल विस्फोट, डढेलो र महामारीजस्ता घटनाले प्रत्येक वर्ष हजारौँ नागरिक प्रभावित हुने गरेका छन्। यस्ता विपद्का बेला स्वास्थ्य सेवा प्रणाली नै सबैभन्दा बढी दबाबमा पर्छ।
विपद् व्यवस्थापनमा जियोस्पेशियल टेक्नोलोजी अपरिहार्य उपकरणका रूपमा स्थापित भइसकेको छ। जोखिम नक्साङ्कन, प्रभावित जनसंख्याको अनुमान, स्वास्थ्य संस्थाको अवस्था, सडक तथा पुलको पहुँच, हेलिकप्टर अवतरण स्थल तथा अस्थायी स्वास्थ्य शिविर स्थापना गर्न सकिने स्थानको पहिचान जीआईएस मार्फत छिटो र वैज्ञानिक रूपमा गर्न सकिन्छ।
२०७२ सालको गोरखा भूकम्पपछि क्षति मूल्याङ्कन, स्वास्थ्य संस्था पुनर्स्थापना तथा राहत वितरणमा जीआईएसको प्रयोग निकै प्रभावकारी भएको अनुभव नेपालसँग छ। तर यस्तो अनुभवलाई स्वास्थ्य विज्ञान शिक्षाको स्थायी अङ्ग बनाउन भने सकिएको छैन।
भविष्यका स्वास्थ्यकर्मीले विपद्पूर्व तयारी, जोखिम नक्साङ्कन, वास्तविक समयको सूचना व्यवस्थापन तथा उद्धार समन्वयका लागि जियोस्पेशियल प्रविधिको प्रयोग गर्न सक्ने क्षमता विकास गर्नु आजको आवश्यकता हो।
७. स्वास्थ्य अनुसन्धानको गुणस्तर र विश्वसनीयता
उच्च गुणस्तरको स्वास्थ्य नीति निर्माणका लागि विश्वसनीय अनुसन्धान अपरिहार्य हुन्छ। नेपालमा स्वास्थ्यसम्बन्धी धेरै अनुसन्धान भए पनि अधिकांश अध्ययन वर्णनात्मक तहमा सीमित छन्। स्थानगत विश्लेषणको प्रयोग अझै न्यून छ।
जियोस्पेशियल टेक्नोलोजीको प्रयोगले अनुसन्धानलाई नयाँ आयाम दिन सक्छ। रोगको वितरण, वायु प्रदूषण, खानेपानीको स्रोत, भूमि उपयोग, जनसंख्या घनत्व, जलवायु परिवर्तन तथा स्वास्थ्य अवस्थाबीचको सम्बन्धलाई स्थानगत रूपमा विश्लेषण गर्दा रोगको वास्तविक कारण र जोखिम कारकहरू अझ स्पष्ट रूपमा पहिचान गर्न सकिन्छ।
उदाहरणका लागि, कुनै क्षेत्रमा क्षयरोग किन बढी देखिएको छ ? कुनै गाउँमा मातृमृत्युदर किन उच्च छ ? कुनै नगरपालिकामा बाल कुपोषण किन दोहोरिइरहेको छ ? यस्ता प्रश्नको उत्तर केवल तथ्याङ्कले होइन, स्थानगत विश्लेषणले दिन सक्छ।
यस प्रकारका अनुसन्धानबाट प्राप्त प्रमाणले स्वास्थ्य नीति निर्माणलाई थप विश्वसनीय, वैज्ञानिक र प्रभावकारी बनाउँछ। त्यसैले अनुसन्धानमुखी स्वास्थ्य शिक्षा अब जियोस्पेशियल विश्लेषणबिनाको कल्पना गर्न सकिँदैन।
८. नेपालको स्वास्थ्य नीति र कार्यान्वयनका चुनौती
नेपालको राष्ट्रिय स्वास्थ्य नीतिले सबै नागरिकका लागि गुणस्तरीय स्वास्थ्य सेवा, समान पहुँच र प्रमाणमा आधारित योजना निर्माणलाई प्राथमिकता दिएको छ। तर व्यवहारमा अधिकांश योजना अझै प्रशासनिक सीमाका आधारमा तयार हुने गरेका छन्। स्थानीय तहसम्म पुग्ने सूक्ष्म स्थानगत विश्लेषण अझै पर्याप्त रूपमा प्रयोगमा आएको छैन।
धेरै स्वास्थ्यकर्मी, योजनाकार र प्रशासक स्थानगत तथ्याङ्क विश्लेषण गर्ने सीपबाट वञ्चित छन्। यसको मूल कारण स्वास्थ्य विज्ञान शिक्षामा स्वास्थ्य भूगोल र जियोस्पेशियल प्रविधिको पर्याप्त समावेश नहुनु हो।
अब समय बदलिएको छ। स्वास्थ्य सेवाका निर्णय अनुमान, अनुभव वा परम्परागत अभ्यासका आधारमा होइन, प्रमाण र स्थानगत तथ्याङ्कका आधारमा हुनुपर्छ। त्यसका लागि स्नातकदेखि स्नातकोत्तर तहसम्म स्वास्थ्य भूगोल, जीआईएस, रिमोट सेन्सिङ, डिजिटल स्वास्थ्य नक्साङ्कन तथा स्थानगत तथ्याङ्क विश्लेषणलाई अनिवार्य पाठ्यक्रमका रूपमा समावेश गर्न आवश्यक छ। साथै कार्यरत स्वास्थ्यकर्मीका लागि नियमित क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिनुपर्छ।
विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच समन्वय गरी अनुसन्धान, नीति निर्माण र व्यवहारमा जियोस्पेशियल प्रविधिको प्रयोग विस्तार गर्नु समयको आवश्यकता हो।
निष्कर्ष
स्वास्थ्य विज्ञान शिक्षाको उद्देश्य केवल रोगको उपचार गर्न सक्ने चिकित्सक उत्पादन गर्नु मात्र होइन, समाजका स्वास्थ्य चुनौतीहरू बुझ्न, विश्लेषण गर्न र समाधान गर्न सक्ने दूरदर्शी नेतृत्व तयार गर्नु पनि हो। त्यसका लागि स्वास्थ्यकर्मीले मानव शरीरको संरचना मात्र होइन, वातावरण, भूगोल, जलवायु, जनसंख्या वितरण र सामाजिक असमानताको अन्तरसम्बन्ध पनि बुझ्न आवश्यक छ।
स्वास्थ्य भूगोलले रोगको 'किन' मात्र होइन, 'कहाँ' भन्ने प्रश्नको उत्तर खोज्छ। जियोस्पेशियल टेक्नोलोजीले त्यसलाई वैज्ञानिक प्रमाणमा रूपान्तरण गर्छ। जब हामी रोग कहाँ केन्द्रित छ, स्वास्थ्य सेवा कहाँ पुगेको छैन र भविष्यमा जोखिम कहाँ बढ्न सक्छ भन्ने बुझ्छौँ, तब मात्र प्रभावकारी नीति, न्यायोचित स्रोत वितरण र दिगो स्वास्थ्य प्रणाली निर्माण सम्भव हुन्छ।
नेपालको भौगोलिक जटिलता, जलवायु परिवर्तनका बढ्दा चुनौती, सीमित स्रोत र स्वास्थ्य सेवामा विद्यमान असमानतालाई दृष्टिगत गर्दा स्वास्थ्य विज्ञान र जियोस्पेशियल विज्ञानबीचको समन्वय अब विकल्प होइन, आवश्यकता हो। आधुनिक स्वास्थ्य प्रणाली निर्माणका लागि यी दुई विषयको एकीकरण अपरिहार्य भइसकेको छ।
त्यसैले नेपालका स्वास्थ्य विज्ञान प्रतिष्ठान, विश्वविद्यालय तथा नीति निर्माण गर्ने निकायहरूले स्वास्थ्य भूगोल र जियोस्पेशियल टेक्नोलोजीलाई स्वास्थ्य विज्ञान शिक्षाको मूल पाठ्यक्रममा समावेश गर्न अब ढिलाइ गर्नु हुँदैन। भविष्यको स्वास्थ्य सेवा केवल उत्कृष्ट चिकित्सकीय ज्ञानले मात्र होइन, स्थानगत बुद्धिमत्ता (Spatial Intelligence) ले पनि निर्देशित हुनेछ। यही दृष्टिकोणले नेपाललाई थप समावेशी, दिगो र प्रमाणमा आधारित स्वास्थ्य प्रणालीतर्फ अघि बढाउन सक्छ।
(लेखक डा. वसन्त न्यौपाने स्पेसियल हेल्थ रिसर्चर हुन्। उहाँ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा विज्ञका रूपमा कार्यरत हुनुहुन्छ।)