काठमाडौं- एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले एमबीबीएस तथा बीडीएस अध्ययनरत विद्यार्थीहरूलाई इन्टर्नशिप भत्ताको विषयलाई लिएर अध्ययन–अध्यापन र स्वास्थ्य सेवामा अवरोध सिर्जना नगर्न आग्रह गरेको छ।
एसोसिएसनले सार्वजनिक गरेको सूचनामा इन्टर्नशिप एमबीबीएस/बीडीएस अध्ययनको अनिवार्य तथा अभिन्न शैक्षिक अंग भएको उल्लेख गर्दै यसलाई श्रम सम्बन्ध वा रोजगारीसँग जोडेर हेर्न नमिल्ने जनाएको छ। कलेजमा भर्ना हुँदा नै ४.५ वर्षको सैद्धान्तिक अध्ययनपछि एक वर्षको अनिवार्य इन्टर्नशिप पूरा गर्नुपर्ने व्यवस्था विद्यार्थीलाई जानकारी रहेको पनि सूचनामा उल्लेख गरिएको छ।
एसोसिएसनका अनुसार इन्टर्नशिप अवधिमा विद्यार्थीहरूले शल्यचिकित्सा, मेडिसिन, प्रसूति तथा स्त्रीरोग, आकस्मिक सेवा, क्रिटिकल केयरलगायत विभिन्न विषयमा व्यावहारिक सीप हासिल गर्ने भएकाले यो चिकित्साशिक्षाको अत्यन्त महत्वपूर्ण चरण हो।
सूचनामा इन्टर्नशिप शीर्षकमा निजी मेडिकल कलेजहरूले कुनै छुट्टै शुल्क नलिएको दाबी गरिएको छ। विगतमा इन्टर्नशिप शुल्क संकलन गरी त्यसबाट केही रकम इन्टर्न चिकित्सकलाई उपलब्ध गराउने प्रचलन रहे पनि चिकित्सा शिक्षा आयोगले गठनपछि इन्टर्नशिप शुल्क लिने व्यवस्था हटाइएकाले त्यसपछि कलेजहरूले पनि उक्त शुल्क नलिएको एसोसिएसनको भनाइ छ।
एसोसिएसनले हालसम्म प्रोत्साहनस्वरूप इन्टर्न चिकित्सकलाई मासिक रु. १३ हजारसम्म उपलब्ध गराउँदै आएको जनाएको छ। यसअघि उक्त रकम क्रमशः रु. १ हजार ५००, रु. ३ हजार र रु. ६ हजार रहेको उल्लेख गर्दै कुनै कानुन, विश्वविद्यालयको पाठ्यक्रम वा नियामक व्यवस्थाले इन्टर्न चिकित्सकलाई अनिवार्य रूपमा निश्चित रकम भुक्तानी गर्नुपर्ने व्यवस्था नगरेको दाबी गरिएको छ।
हाल विद्यार्थीहरूले मासिक रु. ३२ हजार भत्ताको माग गरिरहेको सन्दर्भमा एसोसिएसनले स्रोत सुनिश्चित नगरी उक्त माग पूरा गर्न सम्भव नभएको जनाएको छ। भविष्यमा नयाँ भर्ना हुने ब्याचका हकमा भने शुल्क संरचना, उपलब्ध गराइने सुविधा तथा आवश्यक आर्थिक स्रोतका विषयमा चिकित्सा शिक्षा आयोग, विश्वविद्यालय तथा सम्बन्धित निकायसँग छलफल गर्न आफूहरू तयार रहेको सूचनामा उल्लेख छ।
एसोसिएसनले २०२६ सम्म भर्ना भएका विद्यार्थीहरूलाई इन्टर्नशिप भत्ताको विषयलाई लिएर आन्दोलन, अनशन वा अध्ययन–अध्यापन अवरुद्ध गर्ने गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ। 'आन्दोलन वा टकरावबाट भविष्य उज्ज्वल नहुने' उल्लेख गर्दै समयमै इन्टर्नशिप सम्पन्न गरी चिकित्सकीय भविष्य निर्माणमा केन्द्रित हुन विद्यार्थीलाई अपिल गरिएको छ।
सूचनामा इन्टर्न चिकित्सकहरू कलेजका कर्मचारी नभई विश्वविद्यालयको अध्ययनक्रम पूरा गरिरहेका विद्यार्थी भएकाले उनीहरूलाई स्नातकोत्तर (PG) रेसिडेन्ट चिकित्सकसँग तुलना गर्न नमिल्ने पनि उल्लेख गरिएको छ। साथै, आफूहरू विश्वविद्यालयको पाठ्यक्रम, नियम तथा निर्देशनअनुसार मात्रै काम गर्न बाध्य रहेको एसोसिएसनको भनाइ छ।
एसोसिएसनले राज्यले आवश्यक आर्थिक स्रोत सुनिश्चित नगरेसम्म हालको व्यवस्थाभन्दा फरक निर्णय गर्न नसकिने स्पष्ट गर्दै सबै पक्षबीच संवाद र सहकार्यबाट समाधान खोज्नुपर्नेमा जोड दिएको छ।